माघ २९, पोखरा ।।
पोखरा महानगरपालिकाले नगर क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै तीव्र अभियान सुरु गरेको छ।
लगभग एक महिनादेखि विविध विवादका कारण उठ्न नसकेको फोहोर हिजो बसेको सर्वदलीय र सर्वपक्षिय बैठकबाट शनिबारसम्म नगरभित्रका सम्पूर्ण फोहोर उठाइसक्ने लक्ष्य राखेको हो।
यसका लागि बिहीबार(आज) साँझबाट नै गाडी परिचालन गरिएको महानगरले जनाएको छ। फोहोर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन महानगरपालिकाले दीर्घकालीन समाधानतर्फ स्पष्ट रोडम्यापसहित अघि बढेको जनाएको छ।
तत्काल देखिएको समस्यालाई सम्बोधन गर्न अस्थायी व्यवस्थापनका उपाय अपनाउँदै, दीर्घकालिन रूपमा समस्या समाधानका लागि स्थायी पूर्वाधार निर्माण र संरचनागत सुधारका योजनाहरू कार्यान्वयनमा ल्याउन लागेको पनि जनाएको छ।
यसैबीच, महानगरले ‘क्लिन सिटी अभियान’लाई अभियानकै रूपमा सञ्चालन गर्दै सरसफाइलाई प्राथमिकतामा राखेको छ।
महानगरले आज सूचना जारी गर्दै फोहोर उठाउने गाडी नआउँदासम्म नागरिकलाई धैर्यतापूर्वक पर्खन आग्रह गरेको छ।
सो सूचनामा सडक, चोक, सार्वजनिक स्थल तथा खोलानालामा फोहोर नफाल्न विशेष अनुरोध गरिएको छ। फोहोर व्यवस्थापनलाई कडाइका साथ लागू गर्न आइतबारदेखि अनुगमन टोलीले विशेष निगरानी गर्ने बताइएको छ । यदि जथाभाबी सार्वजनिक स्थानमा फोहोर फालेको पाइएमा अनुगमन टोलीले सोही स्थानमै जरिवाना सहित कारबाही गर्ने चेतावनी दिइएको छ।
सिसी क्यामेराबाट पहिचान भएका व्यक्तिलाई समेत कारबाही दायरामा ल्याइनेछ। न्यूनतम ५ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गरिने समेत महानगरले स्पष्ट पारेको छ।
त्यस्तै नियम उल्लंघन गर्ने व्यक्तिको नाम पनि सार्वजनिक गरिनेछ। महानगरले जथाभाबी फोहोर फ्याँक्ने व्यक्तिको नाम पत्रपत्रिका तथा महानगरको फेसबुक पेज र वेबसाइटमा समेत सार्वजनिक गर्ने नीति लिएको छ ।
“आइतबारदेखि जथाभाबी सार्वजनिक स्थानमा फोहर फालेको पाइएमा अनुगमन टोलीले सोही स्थलमै जरिवाना सहितको कारबाही गर्नेछ । शहरलाई सफा राख्ने दायित्व सबैको हो, नियम उल्लंघन गर्नेलाई छुट छैन,” महानगर स्रोतले जनाएको छ।
महानगरपालिकाले शहरी सौन्दर्यीकरण, मानव स्वास्थ्य र वातावरणीय स्वच्छता कायम राख्न नागरिकको सक्रिय सहयोग अपरिहार्य रहेको बताएको छ।
फोहोर व्यवस्थापन केवल सरकारी दायित्व नभई साझा जिम्मेवारी भएको उल्लेख गर्दै महानगरले “घर अगाडिको फोहोर आफैंको जिम्मेवारी” भन्ने सन्देश पनि प्रवाह गरेको छ।












