फागुन २, पोखरा ।।
शनिबार(आज)फेब्रुअरी १४ भ्यालेन्टाइन डे, विश्वभर प्रेम र आत्मीयता व्यक्त गर्ने विशेष दिनका रूपमा मनाइँदैछ ।
विगत केही वर्षयता यो दिवस केवल पश्चिमी संस्कृतिसँग सम्बन्धित दिनमा सीमित नरही नेपाली समाजमा पनि लोकप्रिय र स्वीकार्य बन्दै गएको छ।
विशेषगरी युवापुस्तामाझ यसको प्रभाव उल्लेखनीय रूपमा बढेको देखिन्छ। प्रेमीप्रेमिकाले यस दिन फूल, चकलेट, कार्ड तथा अन्य उपहार साटासाट गर्दै आफ्ना भावना खुला रूपमा व्यक्त गर्ने प्रचलन बढेको छ।
सामाजिक सञ्जालको तीव्र विस्तारले भ्यालेन्टाइन डे मनाउने शैलीलाई थप आकर्षक र सार्वजनिक बनाएको छ ।
भ्यालेन्टाइन डे मनाउने परम्पराको इतिहास तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग सम्बन्धित रहेको विश्वास गरिन्छ। रोमन सम्राट क्लोडियस द्वितीयले सैनिकलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले गोप्य रूपमा विवाह गराइदिएको कथन पाइन्छ।
प्रेम र स्वतन्त्रताको पक्षमा उभिएका कारण उनलाई फेब्रुअरी १४, सन् २६९ मा मृत्युदण्ड दिइएको थियो। उनको त्याग र प्रेमप्रतिको सम्मानस्वरूप यो दिनलाई प्रेम दिवसका रूपमा स्मरण गर्ने परम्परा विकसित भएको मानिन्छ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा भ्यालेन्टाइन डे केवल एक दिनमा सीमित नरही ‘भ्यालेन्टाइन सप्ताह’का रूपमा मनाउने चलन बढेको छ।
फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे र हग डे क्रमशः मनाइँदै अन्ततः भ्यालेन्टाइन डेमा पुगेर समापन हुन्छ।
समयसँगै भ्यालेन्टाइन डे नेपाली समाजमा प्रेम, सम्मान र सम्बन्धको महत्व झल्काउने अवसरका रूपमा स्थापित हुँदै गएको छ।
आधुनिक जीवनशैली, प्रविधिको पहुँच र बदलिँदो सामाजिक सोचका कारण यो दिवस युवापुस्ताका लागि विशेष महत्वको उत्सवका रूपमा समेत विकसित भइरहेको देखिन्छ।












