फागुन ३, पोखरा ।।
आइतबार(आज)महाशिवरात्री पर्व देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीको पवित्र रातमा पर्ने यो पर्वले बिहानैदेखि देशभरका नदी, कुण्ड, तलाउ र शिवालयहरूलाई भक्तजनको उपस्थितिले जीवन्त बनाएको छ ।
विशेषगरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि हजारौं भक्तजनको लाम लागेको छ भने देशभरका विभिन्न शिव मन्दिरहरूमा समेत भक्तजनहरूको घुइँचो लागेको छ ।
आजको दिन बिहानै स्नान गरी शिवलिंगमा गाईको दूध, बेलपत्र, धतुरो र जल चढाउँदै व्रत बस्ने प्रचलन रहिआएको छ ।
महाशिवरात्रीलाई भगवान शिव प्रकट भएको रात, शिव–पार्वती विवाह सम्पन्न भएको दिन तथा सृष्टिको आध्यात्मिक मोडको प्रतीकका रूपमा धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ ।
पुराणअनुसार, यही रात शिव रुद्रका रूपमा अवतरण भएको तथा प्रलयकालमा शिवले ताण्डव नृत्य गर्दै ब्रह्माण्डको पुनःसंरचना गर्ने विश्वास गरिन्छ ।
भक्तजनका लागि आजको दिन केवल पूजा गर्ने दिन मात्र होइन, आत्मशुद्धि, संयम र आध्यात्मिक जागरणको अवसर पनि हो ।
धेरै श्रद्धालुहरूले निर्जल व्रत बस्ने, रातभर जागरण गर्ने, “ऊँ नमः शिवाय” मन्त्र जप्ने र चार प्रहरमा विशेष पूजा गर्ने परम्परा निर्वाह गर्छन् । धार्मिक विश्वासअनुसार, यस दिन श्रद्धापूर्वक व्रत र पूजा गरेमा पाप नाश भई मोक्ष प्राप्त हुने जनविश्वास छ ।
महाशिवरात्रीले अन्धकारबाट प्रकाशतर्फ, अज्ञानबाट ज्ञानतर्फ र निराशाबाट आशातर्फ अग्रसर हुने सन्देश दिने विश्वास गरिन्छ ।
नेपाल जस्तो धार्मिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा यो पर्वले आस्था, एकता र आध्यात्मिक चेतनाको अनुपम उदाहरण प्रस्तुत गर्दै आएको छ ।












