फागुन ७, पोखरा ।।
बचत तथा ऋण कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ।

ग्रामीण समुदायलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरबाट १ सय ५३ जना स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
सहकारीको पहल तथा निट डेन्टल केयर, महेन्द्रपुलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा दाँत तथा मुखसम्बन्धी विभिन्न समस्याको निःशुल्क परीक्षण, परामर्श तथा औषधी वितरण गरिएको थियो।
शिविरमा सहभागीलाई टुथपेस्ट, ब्रस लगायतका आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको शिविर संयोजक ज्योती हमालले जानकारी दिइन्।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष यामबहादुर हमालले मुख स्वास्थ्य सम्पूर्ण शरीरको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै चेतना अभावका कारण धेरैले समस्या लुकाएर राख्ने प्रवृत्ति रहेको बताए।
“समयमै परीक्षण र उपचारले गम्भीर समस्या रोक्न सकिन्छ, त्यसैले यस्ता शिविर समुदायका लागि अत्यन्त आवश्यक छन्,” उनले भने।
स्थानीय सरकारको तर्फबाट बोल्दै वडाध्यक्ष मधुसुदन अधिकारीले ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने सहकारीको प्रयास प्रशंसनीय रहेको बताए।
उनले यस्ता पहलले स्वास्थ्य सचेतना बढाउन र मुखसम्बन्धी रोग न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सहकारीका अध्यक्ष राजाराम शाहीले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको स्पष्ट पार्दै सहकारीले आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।
“समुदायसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता हो,” उनले भने।
यस्तै निट डेन्टल केयरका प्रबन्ध निर्देशक बिरेन रानामगरले शिविरमा आएका अधिकांश बिरामीमा गिजा सुन्निने, पाक्ने तथा दाँत भाँचिने समस्या देखिएको बताए ।
उनले शिविरमा सहभागी बिरामीलाई आफ्नो संस्थामा थप उपचारका लागि दर्ता निःशुल्क तथा विशेषज्ञ सेवामा १० प्रतिशत र सामान्य परीक्षणमा १५ प्रतिशत छुट दिने घोषणा गरे।
शिविरमा डेन्टल हाईजेनिस्ट रबिन्द्रकुमार पौडेलले दाँत परीक्षण, सरसफाइ विधि र आवश्यक परामर्श प्रदान गरेका थिए।
सहकारीले हरेक वर्ष आफ्नो वार्षिक कार्यतालिका अनुसार स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
ग्रामीण समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्दै सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्ने सहकारीको यो पहलले स्थानीय स्तरमा सकारात्मक प्रभाव छोडेको सरोकारवालाहरूको भनाइ छ।













