फागुन ८, पोखरा ।।
जिल्ला प्रहरी कार्यालय, कास्की र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पोखरामा ठूलो परिमाणमा लागूऔषधसहित तीन महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–१८ बस्ने ३१ वर्षीया नर कुमारी घर्ती, १८ वर्षीया अस्मिता घर्ती मगर र ४१ वर्षीया कुन्ता माया पाइजा रहेका छन्।
प्रहरीले उनीहरुलाई फागुन ६ गते राति करिब ११:१५ बजे पोखरा–५, प्रस्याङ क्षेत्रमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट डाईजेपाम २ सय २४ एम्पुल, फेनारगन २ सय २४ एम्पुल र ब्रुफिन २ सय २४ एम्पुल गरी ६ सय ७२ एम्पुल लागूऔषध बरामद गरेको छ ।
यस्तै पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले नगद ८ हजार ५ सय रुपैयाँ र ३ थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी कडा पारिएको र यस प्रकारका अवैध गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।
प्रहरीले पछिल्लो समय कास्की क्षेत्रमा लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न समूहविरुद्ध सक्रिय अभियान सञ्चालन गर्दै आएको जनाएको छ।












