पोखरामा सहकारी पीडितको आक्रोश: बिना गुरुङलाई थमाइयो छोराको ८० हजारको स्कुल बिल
  • प्रमुख खबर

फागुन ९, पोखरा ।।
जीवनभरको कमाइ सहकारीमा बचत गरेका एक अभिभावक अहिले आफ्नै छोराको विद्यालय शुल्क तिर्न नसक्ने अवस्थामा पुगेका छन्।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गरेको रकम फिर्ता नपाएपछि कास्कीका कृष्णप्रसाद जैसीले सार्वजनिक रूपमा आफ्नो पीडा पोख्दै छोराको ८० हजार रुपैयाँको विद्यालयको बिल नै उम्मेद्वारलाई थमाएका छन्।

पोखरामा शनिबार(आज)आयोजित कास्की क्षेत्र नं.३ का उम्मेद्वारसँगको संवाद कार्यक्रममा जैसीले रास्वपाका उम्मेद्वार बिना गुरुङलाई विद्यालयको बिल बुझाउँदै भने,
“हामीले विश्वास गरेर सहकारीमा पैसा राख्यौँ।

अहिले आफ्नै छोराको वार्षिक परीक्षा दिन नपाउने अवस्था आयो। सहकारीले हाम्रो पसिना खायो। बचत डुब्यो, छोराको भविष्य अन्योलमा छ ।” जैसीका अनुसार उनले वर्षौँसम्म थोरै – थोरै आम्दानीबाट बचत गरेर सहकारीमा रकम जम्मा गरेका थिए। तर सहकारी संकटमा परेपछि बचत फिर्ता नपाउँदा परिवार गम्भीर आर्थिक संकटमा परेको छ।

विद्यालयले शुल्क तिर्न ताकेता गरेपछि उनी बाध्य भएर सार्वजनिक रूपमा बिल देखाउँदै न्यायको माग गर्न पुगेका हुन्। उनले भने,“हामीले सधैं किस्ताबन्दीमा शुल्क तिर्दै आएका थियौँ। तर अहिले सहकारीमा पैसा फसेपछि छोराको पढाइ नै रोकिने अवस्थामा पुगेको छ। राज्यले हाम्रो सुनुवाइ गरिदिनुपर्छ।”

उम्मेद्वारलाई बिल थमाउँदै प्रत्यक्ष प्रश्न कार्यक्रममै उनले गुरुङलाई ८० हजार रुपैयाँको विद्यालय बिल हस्तान्तरण गर्दै सहकारी पीडितको समस्या समाधानका लागि पहल गर्न आग्रह गरे।

सहकारीमा आफ्नो बचत हिनामिना भएपछि शुल्क तिर्न नसकेको उनको भनाइ थियो। उम्मेद्वार गुरुङले उक्त बिल पार्टी सभापति रवि लामिछानेलाई बुझाउने प्रतिक्रिया दिँदै भनिन्,“म भन्दा अग्रजहरू यहाँ हुनुहुन्छ, उहाँहरूको अगाडि बोल्न नसकेको हुन सक्छु। तर यसको अर्थ म केही गर्न सक्दिनँ भन्ने होइन।

म यस विषयमा पहल गर्नेछु।” तर उनले सभापतिको बचाउमा भने प्रत्यक्ष टिप्पणी गरिनन्। सूर्यदर्शन सहकारीमा बचत फसेका पीडितहरू लामो समयदेखि आफ्नो रकम फिर्ताको माग गर्दै आएका छन्।

सहकारीमा रकम डुबेपछि धेरै परिवारको दैनिक जीवन, बालबालिकाको पढाइ र घरखर्च समेत प्रभावित भएको पीडितहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्