फागुन १०, पोखरा ।।
कास्कीका विभिन्न स्थानमा मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी साधन चलाउने ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विषेशगरी मा.प.से गरी सवारी साधन चलाउने जनगुनासो बढेपछि कास्की प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गर्दै ती ६ चालकहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा परेका चालकहरूमा हाइस र बस चालक रहेका छन्। पक्राउ परेका चालकहरुमा धादिङ सिद्धलेक गाउँपालिका–५ का २४ वर्षीय हाइस चालक विवेक घले, पोखरा–२६, बुढीबजारका ३८ वर्षीय हाइस चालक निरबहादुर सुनार, बस चालक पर्सा वीरगञ्जका ४६ वर्षीय रञ्जित बराल, स्याङ्जा फेदीखोला गाउँपालिका–२ का ३२ वर्षीय बस चालक बेलबहादुर बिक, बस चालक पोखरा–२ का ४० वर्षीय गणेश खड्का र पोखरा–१४ का २९ वर्षीय अर्का बस चालक प्रदीप परियार रहेका छन् ।
उनीहरू विभिन्न जिल्लाका बासिन्दा भएपनि पोखराका सडकमा सवारी चलाउँदै आएका थिए। वडा प्रहरी कार्यालय रामबजार र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले आइतबार(आज) बिहान ४ बजेदेखि ६ बजेसम्म विभिन्न स्थानमा आकस्मिक सवारी जाँच अभियान सञ्चालन गरेको थियो।
चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनीहरु विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत मात्र नभई यात्रु तथा सर्वसाधारणको ज्यान जोखिममा पार्ने गम्भीर अपराध भएको उल्लेख गरेको छ।
यससँगै यस्ता गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि नियमित तथा आकस्मिक चेकजाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न सबै चालकलाई सचेत रहन आग्रह पनि गरेका छन्।












