फागुन ११, धादिङ ।।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी राजमार्गमा भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउने सबै १९ जनाको सनाखत भएको छ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश दाहालका अनुसार प्रारम्भमा ९ जनाको मात्र सनाखत खुलेको थियो भने पछि आफन्तको सम्पर्क र आवश्यक कागजातका आधारमा बाँकी १० जनाको पनि पहिचान गरिएको हो।
दुर्घटनामा मृत्यु हुनेमा तनहुँका ५, कास्कीका ४, स्याङ्जा र काठमाडौंका २/२, मोरङ र धादिङका १/१ जना तथा तीन विदेशी नागरिक रहेका छन्।
मृत्यु भएका विदेशी नागरिक बेलायती २४ वर्षीय स्टुअर्ट डोमिनिक इथान, ३२ वर्षीय भारतीय नागरिक मनिष शुक्ला र ४० वर्षीया चिनियाँ नागरिक झाङ चुनचुन छन्।
यस्तै कास्कीबाट ज्यान गुमाउनेमा पोखरा–३० का ४० वर्षीय बिबेक बस्तोला, वडा–१४ की २१ वर्षीया अञ्जली क्षेत्री, वडा–१९ का २६ वर्षीय सुजित नेपाली तथा माछापुच्छ्रे गाउँपालिका–३का २१ वर्षीय रोहित नेपाली रहेका छन्।
त्यसैगरी तनहुँ, स्याङ्जा, काठमाडौं, धादिङ, पाल्पा र मोरङका विभिन्न स्थानका अन्य मृतकहरूको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ।
बसमा चालकसहित कुल ४४ जना सवार थिए, जसमा २९ पुरुष र १५ महिला थिए। दुर्घटनामा घाइते भएका २५ जनाको काठमाडौंस्थित नेशनल सिटी अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य सञ्चालन गरिएको थियो भने मृतकको शव पोस्टमार्टमका लागि व्यवस्थापन गरिएको छ।
यस्तै यस घटनाबारे छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
गृह प्रवक्ता आनन्द काफ्लेले कार्यदललाई दुर्घटनाको कारण, सम्भावित कमजोरी र भविष्यमा यस्ता घटना नदोहोरिने उपायबारे प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिए।
गृहमन्त्री ओमप्रकाश अर्यालले दुर्घटनापछि काठमाडौंका अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।












