फागुन १२ ,काठमाडौँ//
भारतको झारखण्ड राज्यमा सोमबार साँझ एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा विमानमा सवार सातै जनाको मृत्यु भएको छ। बिरामीलाई लिएर राँचीबाट दिल्लीका लागि उडेको विमान चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको हो।
चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीस्थित रेडबर्ड एयरवेजद्वारा सञ्चालित बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) विमान दुर्घटनामा परेको हो। विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई स्वास्थ्य सहयोगी तथा दुई क्याप्टेनसहित सात जना सवार थिए। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा सबैको ज्यान गएको पुष्टि भएको छ।
नागरिक उड्डयन महानिर्देशनालय (DGCA)का अनुसार विमान साँझ ७:११ बजे बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो। उडानपछि कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गर्दै मौसम प्रतिकूल रहेकाले मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको थियो। तर साँझ ७:३४ बजे वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा विमानको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको जनाइएको छ।
कोलकातासँग सम्पर्क टुटेपछि विमान वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्कमा नआएको बताइएको छ। रडार रिप्ले परीक्षणमा अन्तिम सम्पर्क साँझ ७:२२ बजे देखिएको जानकारी डीजीसीएले दिएको छ।
दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार पनि रहेका छन्, जो आगलागीको घटनामा ६३ प्रतिशतसम्म जलेर गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगिँदै थियो। विमानमा उनका सहयोगी विकास गुप्ता, चिकित्सक सचिन कुमार मिश्र, स्वास्थ्य सहयोगी अर्चना देवी र धुरु कुमार, साथै क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंह सवार रहेको बताइएको छ।
राँची विमानस्थलका निर्देशक विनोद कुमारले खराब मौसम दुर्घटनाको सम्भावित कारण हुनसक्ने प्रारम्भिक अनुमान व्यक्त गरेका छन्। यद्यपि, दुर्घटनाको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुने उनले बताएका छन्। घटनाको औपचारिक छानबिन प्रक्रिया सुरु गरिएको छ।
सन् २०१८ मा स्थापना भएको रेडबर्ड एयरवेजले २०१९ अगस्टदेखि चार्टर तथा एयर एम्बुलेन्सजस्ता गैर–अनुसूचित उडान सञ्चालनका लागि अनुमति पाएको थियो। कम्पनीले २४सै घण्टा मेडिकल इभ्याकुएसन सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।
हाल चार्टर उडान र नियामक संयन्त्रमाथि प्रश्न उठिरहेका बेला यो दुर्घटना भएको हो। यसअघि जनवरी २८ मा महाराष्ट्रको बारामतीमा लियरजेट–४५ दुर्घटनामा पाँच जनाको ज्यान गएपछि स्वतन्त्र छानबिनको माग समेत उठेको थियो। डीजीसीएले गैर–अनुसूचित उडान सञ्चालनकर्तामाथि विशेष अडिट गरिरहेको जनाएको भए पनि ती प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।









