फागुन १७, काठमाडौं ।।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ।
नेपाल सरकार, रक्षा मन्त्रालयअन्तर्गतको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार(आज)जारी गरेको प्रेस विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो ।
उक्त विज्ञप्तिमार्फत नेपाली सेनाले एकीकृत सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायसँग समन्वय र सहकार्य गरी निर्वाचन सुरक्षामा प्रतिबद्ध रहेको स्पष्ट पारेको हो।
यस्तै निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण गतिविधि “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४” तथा “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२” बमोजिम सञ्चालन भइरहेको समेत विज्ञप्तिमा जनाइएको छ।
मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका प्रतिनिधि तथा नेपाली सेनासहितको एकीकृत टोलीले मतपेटिका सुरक्षित रूपमा गणनास्थलसम्म पुर्याउने कार्य गर्ने जनाइएको छ।
सेनाले वि.सं. २०४८ सालदेखि सम्पन्न हुँदै आएका सबै निर्वाचनमा आफ्नो भूमिकालाई इमानदारीपूर्वक निरन्तरता दिँदै आएको स्मरण गराउँदै मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंबाट देशभरका निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिभर संवेदनशील क्षेत्रमा सुरक्षा प्रदान गर्ने लगायतका जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेको छ।
निर्वाचन सम्पन्न भएपछि संयुक्त सुरक्षा टोलीमार्फत मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी पनि नेपाली सेनाले समन्वयात्मक ढंगले वहन गर्ने विज्ञप्तिमा उल्लेख छ।












