फागुन १९, काठमाडौं ।।
अमेरिका–इजरायल र इरानबीच चर्किएको युद्धले खाडी क्षेत्रमा कार्यरत करिब १९ लाख नेपाली श्रमिकको सुरक्षालाई लिएर गम्भीर चिन्ता थपेको छ।
खाडीका देश साउदी, कतार, कुवेत, यूएई, बहराइन, ओमानलगायतमा झन्डै १९ लाख नेपाली कार्यरत रहेको नेपाल सरकारको तथ्याङ्कमा छ ।
अमेरिका र इस्राएलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको तनाव अहिले प्रत्यक्ष सैन्य जवाफी कारबाहीमा परिणत भएको छ।
इरानले अमेरिकी सैन्य क्याम्पमा रहेका विभिन्न स्थानमा आक्रमण तीव्र बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विषेशगरी ती देशका विमानस्थल, आवासीय भवन, होटल, तेलखानी जस्ता महत्त्वपूर्ण क्षेत्रमा भइरहेको आक्रमणले असुरक्षित भएको त्यहाँ रहेका कतिपय श्रमिकले बताएका छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले खाडी देशको परिस्थितिप्रति निरन्तर अनुगमन भइरहेको जनाएको छ । यस्तो अवस्थामा आफ्नो सुरक्षामा पहिलो प्राथमिकता राख्न श्रम तथा द्वन्द्व व्यवस्थापनका विज्ञ मीना पौडेलको सुझाव छ ।
पौडेलले स्थानीय सरकार र कार्यक्षेत्रका नियम तथा दूतावासले निकालेका सूचनाको पालना गर्नु महत्त्वपूर्ण हुने बताएकी छन्।
यस्तै आफू रहेको देशको कानूनबारे जानकार रहने, रोजगारदाता र कार्यस्थलको नीति नियम पालना गर्ने, आफूलाई थाहा भएका कुरा साथीहरुलाई पनि भन्ने, नेपालमा रहेका आफ्नो परिवार र आफन्तसँग पनि निरन्तर सम्पर्कमा बस्ने, सामाजिक सञ्जालमा आएका हल्लाको विश्वास नगर्ने तथा केही अप्ठारो परेमा सम्बन्धित दूतावासमा जानकारी गराउनुपर्ने उनले बताइन्।
मन्त्रालयले सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्न र परराष्ट्र मन्त्रालय वा सम्बन्धित देशमा रहेका नेपाली दुतावासहरुमा नियमित सम्पर्कमा रहन भनेको छ ।
विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले पनि स्थानीय कानून पालना गर्न र सुरक्षा निर्देशन मान्न आग्रह गरेका छन् । द्वन्द्व प्रभावित देशमा रहेका नेपालीलाई त्यहीँ सुरक्षित राख्ने सरकारले निर्णय गरेको छ ।












