१ हजार ५ सय ट्रक बराबर फोहर थुप्रिँदा पोखरा संकटमा, तीव्र गतिमा सरसफाइ अभियान सुचारु
  • प्रमुख खबर

फागुन १९, पोखरा ।।
पोखरामा करिब डेढ महिनादेखि थुप्रिएको फोहर अन्ततः फेरि उठ्न थालेको छ। लामो समयदेखि अवरोध र विवादका कारण रोकिँदै आएको फोहर संकलन कार्य सोमबार साँझबाट पुनः सञ्चालनमा आएको हो।

पोखरा महानगरपालिकाले दिएको जानकारी अनुसार मंगलबार(आज) बिहानसम्म १ सय ५२ सवारी फोहर संकलन गरी निर्धारित बिसर्जन स्थलमा व्यवस्थापन गरिसकिएको छ।

यसअघि महानगरले पटक–पटक फोहोर संकलन कार्य सुचारु गरिएपनि अवरोधका कारण रोकिन पुगेको थियो । तर यसपटक महानगरले फोहर व्यवस्थापनलाई निरन्तरता दिने लक्ष्यसहित अघि बढाइएको जनाइएको छ।

विषेशगरी लामो समयदेखि अवरुद्ध फोहर व्यवस्थापनलाई सहज बनाउन महानगरले स्थानीय बासिन्दा, राजनीतिक दल र सरोकारवाला पक्षसँग संवाद गरी सहमति जुटाएको जनाएको छ।

सोही सहमतिका आधारमा ३८ वटा फोहर संकलन गाडी परिचालन गर्दै तीव्र गतिमा काम अघि बढाइएको थियो। तर मंगलबार बिहानै केही समूहले पुनः अवरोध गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिएरै भए पनि फोहर व्यवस्थापनलाई निरन्तरता दिइएको महानगरले जनाएको छ।

यस विषयलाई लिएर महानगरका मेयर आचार्यले फोहरको दुर्गन्ध फैलिसकेको र वर्षासँगै स्वास्थ्य जोखिम बढ्दै गएकोले महानगर पछि नहट्ने स्पष्ट पारे।
उनले भने, “फोहर थुप्रिएर बसिसकेको छ, पानी परिरहेको छ। यस्तो अवस्थामा हैजाजस्ता महामारी फैलन सक्छन्।

सहमतिमा अघि बढेको काममा फेरि अवरोध हुनु दुःखद हो, तर जनस्वास्थ्यको सवालमा महानगर चुप लागेर बस्ने छैन।”

उनले सामाजिक सञ्जालमार्फत पनि कडा सन्देश दिँदै सहमतिमा अघि बढेको फोहर बिसर्जन कार्यमा अवरोध नगर्न राजनीतिक दलका नेताहरूसमक्ष आग्रह गरेका छन्।

यदि यस कार्यमा बाधा पुर्याउने काम भए ऐन–कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत उनले दिएका छन्।

महानगरका अनुसार बजार क्षेत्र, मुख्य चोक र सडक किनारामा करिब १ हजार ५ सय ट्रक बराबर फोहर थुप्रिएको अनुमान गरिएको छ।

गर्मी बढ्दै जाँदा र वर्षा सुरु भएसँगै दुर्गन्ध र संक्रमणको जोखिम तीव्र बन्दै गएको छ। महानगरले आज र भोलिसम्म अधिकतम फोहर उठाइसक्ने लक्ष्य लिएको जनाएको छ। त्यस्तै बजार क्षेत्रको फोहर संकलनपछि गाडीको रुटअनुसार घर–घरमा फोहर संकलन गरिनेछ।

घर तथा व्यवसायबाट निस्कने फोहर सडक, चोक, बसपार्क, ताल–पोखरी र नदी किनारमा जथाभावी नफाल्न तथा कुहिने–नकुहिने फोहर छुट्याएर गाडीको पालो कुर्न नागरिकलाई आग्रह गरेको छ।

यस्तै नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले फोहर व्यवस्थापन जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिककरण नगर्न आग्रह गरेका छन्।

दलहरूको दोहोरो चरित्र लज्जास्पद भएको टिप्पणी गर्दै उनले “फोहरमाथिको दुर्गन्धित राजनीति बन्द गर्न” सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्।

महानगरले हालको कदम दीर्घकालीन समाधान नभई अस्थायी व्यवस्थापन मात्र भएको स्पष्ट पारेको छ। फोहर व्यवस्थापनजस्तो आधारभूत सेवामा पटक–पटकको अवरोधले शहरको छवि, जनस्वास्थ्य र दैनिक जनजीवनमा गम्भीर असर परेको भन्दै महानगरले सहकार्य र संयमताको अपिल गरेको छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्