कास्कीमा आचारसंहिता मिच्दै मदिरा ओसारपसार, सशस्त्रको कारबाहीमा ८ कार्टुन समातियो
  • प्रमुख खबर

Oplus_131072

फागुन २०, पोखरा ।।
कास्कीको रुपा गाउँपालिकामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै लैजान लागिएको मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखराको मालेपाटनस्थित कालिका गण हेडक्वार्टरका अनुसार पोखराबाट रुपातर्फ जाँदै गरेको ग३च ६४३२ नम्बरको जिपबाट पसलमा बिक्रीका लागि झार्दै गरेको अवस्थामा ८ कार्टुन कर्णाली स्याउ ब्रान्डको मदिरा (करिब ७ हजार रुपैयाँ बराबर) नियन्त्रणमा लिइएको हो।

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि रुपा गाउँपालिकामा खटिएको टोलीले चेकजाँचका क्रममा उक्त मदिरा फेला पारेको जनाएको छ। निर्वाचनको लागी उक्त गाउँपालिकामा खटिएका

सशस्त्र प्रहरी नायव निरीक्षक(सप्रनानि)बसन्त बहादुर बुढाथोकी नेतृत्वको टोलीले मदिरा बरामद गरेको हो ।
भोलि हुने निर्वाचनविरुद्ध आचारसंहिता विपरीत कुनै पनि गतिविधि सहन नहुने सप्रनानि बुढाथोकीले चेतावनी दिएका छन्।

“निर्वाचन सुरक्षा निर्देशिका बमोजिम कानुन विपरीतका कार्य गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउने काम निरन्तर जारी रहनेछ,” उनले बताए।

उक्त बरामद गरिएको मदिरालाई निर्वाचन सुरक्षार्थ रामकोट मा.वि, रुपा–७ मा खटिएको नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ।

निर्वाचनलाई स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले आचारसंहिता विपरीतका गतिविधि नगर्न सबैलाई अनुरोध गरेको छ।

यस्तै अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म जिल्ला प्रशासन कार्यालय कास्कीले मदिराजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

त्यसैगरी निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

आज राति १२ बजेदेखि मतदान सम्पन्न भई मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा नपुगेसम्म सार्वजनिक तथा निजी यातायात सेवा सञ्चालनमा रोक रहने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चिताङ्गत बरालले जानकारी दिएका छन्।

प्रशासनले सुरक्षा व्यवस्थालाई कडाइ गर्दै निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षको सहयोग अपरिहार्य रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्