फागुन २१, पोखरा ।।
निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सञ्चालन गरिएको निगरानीमा बिना पास हिडेका सवारी साधनहरूलाई कास्की प्रहरीले नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार(आज) दिउँसो ४ बजेसम्म १ सय ७८ वटा दुईपाङ्ग्रे र ७ वटा चार पाङ्ग्रे सवारी नियन्त्रणमा लिइएको छ। अहिलेसम्म जम्मा १ सय ८५ सवारी साधन बिना पास हिड्नेको सूचीमा परेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता भरत पोखरेलका अनुसार, “मतदानको दिन मतदान केन्द्र वरिपरि निष्पक्ष र सुरक्षित वातावरण कायम राख्न यस्तो कदम आवश्यक भएको हो। आवश्यक प्रमाण बिना सवारी साधन सञ्चालन नगर्न आग्रह गर्दा समेत अटेर गरी सवारी चलाएपछि नियन्त्रणमा लिइएको हो।”
विषेशगरी सुरक्षा व्यवस्था कडाइका कारण मतदान केन्द्र वरिपरि यात्रा गर्दा यात्रुहरूलाई असुविधा भए पनि प्रशासनले निर्वाचनको निष्पक्षता र सुरक्षा सर्वोपरि रहेको बताएको छ।












