पोखराका मेयरको सन्देश: “अब धेरै दिन कुर्नुपर्दैन, चैत १ देखि फोहोर व्यवस्थापन सहज हुन्छ”
  • प्रमुख खबर

फागुन २७, पोखरा ।।
पर्यटनको राजधानी पोखरामा लामो समयदेखि फोहोर उठ्न नसक्दा यसले बजार क्षेत्र कुरुप बनेको छ । मुख्य – मुख्य चोक र अति व्यस्त सडकका छेउमा फोहोरको डंगुर थुप्रिदा पोखराको सुन्दरतालाई जति कुरुप बनाएको छ त्यति नै यसले नगरवासीको स्वास्थ्यमाथि पनि गम्भीर असर गरेको छ। तर अब भने नगरवासीले भोग्दै आएको यो सास्ती धेरै दिन नरहने संकेत देखिएको छ।

पोखरा महानगरपालिकाले आगामी चैत १ गतेदेखि फोहोर सङ्कलनका लागि नयाँ अस्थायी विसर्जन केन्द्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

हाल विभिन्न स्थानमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्दै आएको महानगरले अब केही व्यवस्थित रूपमा समाधानको बाटो रोजेको हो।

बुधबार(आज) सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीलाई सम्बोधन गर्दै महानगरका मेयर धनराज आचार्यले फोहोर व्यवस्थापनको यो संक्रमणकालीन अवस्थामा सहयोगको अपिल गरेका छन् ।

उनले भने,”शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन हामी अहोरात्र खटिरहेका छौँ। अस्थायी विसर्जन केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। त्यतिन्जेलसम्म यहाँहरूको सहयोग, धैर्यता र सहकार्यको अपेक्षा गर्दछु।”

विषेशगरी पोखराको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्नुको प्रमुख कारण नै स्थायी फोहोर प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न नहुनु हो। महानगरले यसका लागि प्रक्रिया अगाडि बढाएको भएपनि यो तयार हुन अझै केही समय लाग्ने हुँदा सहयोगको लागि आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्