फागुन ३०, पोखरा ।।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको “अपरेशन ३६५” अभियान अन्तर्गत एकै राति १० वटा मोटरसाइकल र ६ जना चालकलाई नियन्त्रणमा लिइएको छ।
मोटरसाईकलको स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने खालका गतिविधी बढिरहेको भन्ने जनगुनासोको बढेसँगै कास्की प्रहरीले यो अभियान सञ्चालन गरिरहेको छ ।
यसै अभियानअन्तर्गत फागुन २९ गते बिहीबार राति १ बजेदेखी विहान ६ बजेसम्म पोखरा -६, लेकसाइडबाट चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्नेलाई नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीसँगै झै-झगडा गर्ने ६ जना चालक र १० वटा मोटरसाईकल नियन्त्रणमा लिइएको हो।
यतिबेला प्रहरी नियन्त्रणमा रहेका ती चालकहरुलाई कानूनी कारवाहीको लागि प्रकृया अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिएका छन् ।
उनले सवारीधनीहरूलाई सवारीसाधनको मूल स्वरूप परिवर्तन नगर्न आग्रह गरेको पनि बताए। यसका साथै मोटरसाइकल मोडिफाई गर्ने ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकलाई समेत यस्तो गतिविधि नगर्न चेतावनी दिइएको छ।
यदि सवारीसाधन मोडिफाई गरी चलाएको पाइएमा सवारीधनी र त्यसमा संलग्न व्यक्तिमाथि कानून बमोजिम कारबाही गरिने समेत सूचना अधिकारी बस्नेतले स्पष्ट पारेका छन् ।












