चैत ०२, पोखरा ।।
पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रीदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ ।
मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवासहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आयोजकले प्रतियोगिता अवधिभर हस्पिटललाई आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो । यसका साथै हस्पिटलले प्रतियोगिताको खुलातर्फको तेस्रो पुरस्कार नगद पाँचहजार रुपैयाँ पनि सहयोग गर्ने पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले जानकारी दिए । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक रात्रिदौड प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँचहजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र र महिला, विद्यार्थी (यू–१६) र विदेशी धावकतर्फका विजेतालाई प्रोत्साहन पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्राविधिक ओम गुरुङ बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित पर्यटन पवद्र्धनात्मक कार्यक्रमका तुलनामा नेपाली नयाँ वर्षमा प्रर्वद्धनात्मक कार्यक्रम भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणामा रात्री दौड आयोजना गर्न लागिएको पोखरा पर्वद्धन केन्द्रका उपाध्यक्ष असफल गौतम बताउँछन् ।
पाँच किलोमिटर दूरीको उक्त दौड बाराही घाटबाट सुरु भई लेकसाइड, पोखराका प्रमुख नगरी क्षेत्र, न्यूरोड, महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर समापन हुने भएको छ ।













