चैत्र ५, पोखरा ।।
उपभोक्ताको भान्सासँग जोडिएको एल.पि. ग्यासको आपूर्तिमा पछिल्लो समय हुने गरेको बदमासीलाई रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा सक्रिय रूपमा अनुगमन गरिरहेको छ ।
बुधबार साँझ पनि प्रशासनले आफ्नो कार्यालय समय सकिएलगत्तै पोखराका मुख्य व्यापारिक क्षेत्रका ग्यास डिलरहरूमा आकस्मिक अनुगमन गरेको हो।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा निस्किएको टोलीले पोखराको पर्स्याङ, मालेपाटन, लेकसाइड र सिर्जनाचोक क्षेत्रमा रहेका चारवटा ठूला ग्यास विक्रेता तथा डिलरहरूमा छापा मारेको थियो।
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन र सुरक्षा मापदण्ड पालना भए/नभएको जाँच्न टोली सोही अनुरुप अगाडि बढी रहेको छ ।
यस अनुगमन टोलीले डिलरहरूमा पुगेर ग्यास सिलिन्डरको तौल सही भए/नभएको र म्याद गुज्रिएका सिलिन्डर बिक्रीमा राखिएको छ कि छैन भन्ने जाँच गरेका छन् ।
यस्तै मूल्यसूची स्पष्ट देखिने गरी टाँसिएको छ कि छैन र बिलिङ प्रणाली व्यवस्थित छ कि छैन, ग्यास भण्डारण गर्दा अपनाउनुपर्ने न्यूनतम सुरक्षा मापदण्डको पालना गरे नगरेको र मौज्दात र बिक्रीको दैनिक अभिलेख व्यवस्थापन गरे नगरेबारे पनि अनुगमन गरिएको प्रशासनले बताएको छ ।
प्रशासनका अनुसार अनुगमनका क्रममा केही विक्रेताहरूले चरम लापरबाही गरेको पाइएको छ। केही पसलमा मूल्यसूची नराखिएको, बिक्री अभिलेख दुरुस्त नभएको र सुरक्षा सतर्कतामा गम्भीर कमजोरी भेटिएको टोलीले जनाएको छ।
यस्ता गम्भीर त्रुटि भेटिएका डिलरहरूमा प्रशासनले तत्काल सुधारका लागि कडा निर्देशन दिएको जनाएको छ । यदि यी गल्तीहरू पुनः दोहोरिएमा वा उपभोक्ता ठग्ने नियत देखिएमा कानुन बमोजिम कडा कारबाही र पसल सिल गर्ने प्रक्रिया अघि बढाइने समेत अनुगमनका क्रममा प्रशासनले चेतावनी दिएको छ।













