चैत्र ५, पोखरा ।।
निर्वाचन केवल जित र हारको खेल मात्र होइन, यो मतदाताको बदलिँदो मनोविज्ञान र भरोसा बुझ्ने ऐना पनि हो।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामले कास्की जिल्लाको राजनीतिमा एउटा रोचक दृश्य देखाएको छ, जसले वर्षौँदेखि जकडिएको परम्परागत राजनीतिको जग मात्रै हल्लाएको छैन, भविष्यको राजनीति अनुहारले चल्छ कि एजेण्डाले भन्ने नयाँ बहस समेत खडा गरेको छ।
प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले उपलब्ध गराएको कास्कीको मत परिणाम अनुसार कतै उम्मेदवारको व्यक्तित्वले पार्टीको साख धानेको देखियो भने कतै पार्टीको ब्राण्ड अगाडि उम्मेदवार ओझेलमा परेको देखियो ।
विषेशगरी कास्कीको मत परिणामले जिल्लामा पुराना र बलिया भनिएका दल नेपाली कांग्रेस र नेकपा एमाले भन्दा यसका उम्मेदवार बलिया देखिए ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनारायण न्यौपानेले उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लामा रहेको तीनवटै निर्वाचन क्षेत्रमा प्राप्त मतलाई तुलना गर्दा समानुपातिकतर्फ दलले पाएको मतभन्दा प्रत्यक्षतर्फ उम्मेदवारले प्राप्त गरेको मत बढी देखिएको हो।
यसले कास्कीका मतदाताले दलको चिन्हभन्दा पनि उम्मेदवारको व्यक्तिगत छवि, उनीहरूप्रतिको विश्वास र लोकप्रियतालाई बढी महत्व दिएको देखाएको छ ।
यसले के प्रष्ट पारेको छ भन्दा मतदाताले समानुपातिकतर्फ एउटा दल रोजे पनि प्रत्यक्षतर्फ भने आफूलाई मन परेको उम्मेदवारलाई रोजेको देखाएको छ।
तथ्याङ्क अनुसार पुरानो शक्तिको रूपमा स्थापित नेकपा एमाले र नेपाली कांग्रेसले पार्टीको समानुपातिक मत भन्दा प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत बढी छ।
कास्की क्षेत्र नं १, २ र ३ मा गरी नेकपा एमालेले समानुपातिकतर्फ २४ हजार १ सय ९९ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ भने २५ हजार ८ सय २८ मत प्राप्त गरेको छ । अर्थात समानुपातिक भन्दा प्रत्यक्षतर्फ १ हजार ६ सय २९ मत बढी खसेको देखिएको छ ।
नेपाली कांग्रेसले पनि तीनवटै क्षेत्रमा समानुपातिकतर्फ भन्दा प्रत्यक्षतर्फ १ हजार ८ सय ३८ मत बढी प्राप्त गरेको छ ।
कांग्रेसले समानुपातिकमा २८ हजार ६ सय ५६ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ भने ३० हजार ४ सय ९४ मत प्राप्त गरेको हो । यसले के स्पष्ट पारेको छ भन्दा यी दलबाट उठेका उम्मेदवारहरू भोट तान्ने चुम्बकका रूपमा प्रमाणित भए जसले गर्दा पार्टीको खस्कँदो साख मात्र जोगएनन् वैशाखी बनेर पार्टीलाई सुरक्षित किनार समेत लगाए।
तर यता राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को हकमा भने उल्टो देखियो । यहाँ न उम्मेदवारको पूर्व राजनीतिक इतिहास खोजियो, न त उनीहरूको व्यक्तिगत प्रभाव मात्र घण्टी र परिवर्तनको एजेण्डा मात्र जनताले खोजे।
मत परिणामको नतिजा अनुसार कास्कीको तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारलाई १ लाख ९५ हजार ४४ मत प्राप्त हुँदा समानुपातिकमा भने १ लाख १३ हजार ६ सय २८ मत प्राप्त भएको थियो। अर्थात रास्वपाले समानुपातिकमा भन्दा प्रत्यक्षतर्फ ४ हजार ८४ मत काम पाएको छ । यसले राजनीतिमा नयाँ शक्तिको रूपमा उदय भएको रास्वपालाई मतदाताहरुले व्यक्तिभन्दा पनि परिवर्तनको एजेण्डा र पार्टी ब्राण्डको रूपमा रुचाएको देखाएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को हकमा पनि उम्मेदवार भन्दा दलको प्रभाव प्रभावकारी देखियो । १८ वटा विभिन्न राजनीतिक दल मिलेर बनेको नेकपाले पनि यस निर्वाचनमा प्राप्त गरेको मत परिणाम अनुसार उम्मेदवारले भन्दा पार्टीको चिह्नले बढी मत पाएको देखिएको छ।
नेकपाले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ ५ हजार ७ सय ६३ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ भने जम्मा ५ हजार २ सय ११ मत प्राप्त गरेको छ । यो नेकपाले समानुपातिकमा प्राप्त गरेको मत भन्दा ५ सय ५२ मतले कम हो ।
यसैबीच राप्रपाले समानुपातिकमा ६ हजार ४ सय ६६ मत पाउँदा प्रत्यक्षमा भने जम्मा ४ हजार २७ मत मात्र पाएको छ । यो राप्रपाले प्रत्यक्षमा ल्याएको मत भन्दा २ हजार ४ सय ३९ मतले बढी हो । तर यी दुई दलले प्राप्त गरेको नतिजाले एउटा तीतो सत्य ओकलेको छ । त्यो सत्य भनेको केवल कोर भोटले मात्र चुनाव जितिँदैन भन्ने प्रमाणित गरेको छ । यी दलका उम्मेदवारहरूले सर्वसाधारणको मन जित्न थप मेहेनत गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
कास्कीको यो मत-अंकगणितले वर्षौँदेखिको विभिन्न राजनीतिक दलहरूले मतदातालाई भोट बैंकको रूपमा लिने गरेको भाष्यलाई सधैँका लागि बदलिदिएको छ।
यस प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले पुराना दललाई अब इतिहास र झण्डा मात्रै बेचेर चुनाव जितिँदैन, जनताले पत्याउने दमदार अनुहार पनि चाहिन्छ भनेर छर्लङ्ग ऐना देखाइदिएको छ ।
त्यस्तै नयाँ दललाई लहर सधैँ आउँदैन, संगठन र व्यक्तिको उचाइ नबढाए अर्को पटक ब्राण्ड मात्रै पर्याप्त नहुने स्पष्ट संकेत दिएको छ ।













