चैत्र १४, काठमाडौं ।।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेसले समीक्षा गर्ने भएको छ।
नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको कांग्रेस संसदीय सचेतना कार्यक्रममा यस विषयमा समीक्षा गर्ने भएको सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
हिजो मात्र बनेको नयाँ सरकारले गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस अनुसार ओली र लेखकलाई शनिबार(आज) बिहानै पक्राउ गरेको थियो ।
यस विषयलाई लिएर कांग्रेसका नेताहरुले कुनैपनि प्रतिक्रिया भने दिएका छैन । तर, कांग्रेसले उक्त प्रतिवेदनलाई प्रथमदृष्टिमा अपूरो र अधुरो भनेको छ ।
प्रतिवेदन अध्ययनका लागि कांग्रेसले कानुनका बेत्ता, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनमा सहभागी भएका युवा अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति बनाउने भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनालाई लिएर कार्की आयोगले तयार गरेको प्रतिवेदनलाई गहनतापूर्वक अध्ययन गरेपछि मात्र पार्टीले दृष्टिकोण बनाउने बताएको छ ।
यस्तै अहिले ११ बजेबाट शुरु हुन लागेको संसदीय सचेतना कार्यक्रममा कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे नवनिर्वाचित सांसदहरूलाई बुझाउने समेत भएको छ।












