ओली–लेखक पक्राउपछि एमालेको आकस्मिक बैठक, संवादका लागि जिम्मेवारी बाँडफाँट
  • प्रमुख खबर

Oplus_131072

चैत्र १४, काठमाडौं ।।
नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको घटनालाई लिएर राजनीतिक दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

आज बिहान बसेको एमालेको आकस्मिक सचिवालय बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो । सो अनुसार राजनीतिक दलहरुसँगको संवाद संयोजन पार्टीका उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।

यस्तै संसदीय दलहरूसँगको संवादको संयोजन भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ । कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टलाई दिएका छन् ।

संसदमा रहेका दलहरुसँग संवाद गरेर सामूहिक प्रतिवादको योजना बनाउने महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले ओली र लेखकलाई आज पक्राउ गरेको छ । लगत्तै पार्टी कार्यालय च्यासलमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा एमाले सचिवालयको आकस्मिक बैठक बसेको थियो ।

सोही बैठकले संसदमा रहेका र नरहेका दलसँग संवाद गर्ने र कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी बाँडफाँट गरेको हो । महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ प्रतिशोधपूर्ण, पूर्वाग्रही, गैरकानुनी भएको बताए ।

नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । विषेशगरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्