चैत्र १४, पोखरा ।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरुद्धमा एमाले निकट विद्यार्थी र युवा संगठनहरूले शनिबार(आज)पोखरामा पनि प्रदर्शन गरेका छन् ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले कार्की आयोगको प्रतिवेदनलाई एकपक्षीय र पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

यस्तै प्रदर्शनकारीहरूले सो प्रतिवेदनलाई जलाउँदै असन्तुष्टि पोखेका छन्। भदौ २३ मा भएको जेनजी प्रदर्शनलाई लिएर कार्कीको नेतृत्वमा गठन भएको आयोगले घटनाको अनुसन्धान गर्दै प्रतिवेदन सार्वजनिक गरेको थियो।
सो प्रतिवेदन सार्वजनिक भएलगत्तै हिजो मात्र बनेको नयाँ सरकारले सिफारिस गर्दै ओलीलाई आज बिहानै उनको निवास गुण्डुबाट पक्राउ गरेको थियो । विषेशगरी पार्टी अध्यक्ष ओलीमाथि अहिलेको सरकारले धरपकट गरेको भन्दै पोखरामा विरोध गरिएको एमालेले जनाएको छ ।
अनेरास्ववियु र युवा संघ नेपालको अगुवाइमा निकालिएको विरोध र्याली एमाले कास्कीको जिल्ला पार्टी कार्यालयबाट शुरु भएर पृथ्वीचोकसम्म पुगेको थियो । र्यालीमा सहभागी भएकाहरूले सरकार र आयोगविरुद्ध नाराबाजी गर्दै आक्रोश व्यक्त गरेका थिए ।

त्यस्तै प्रदर्शनकारीहरुले भदौ २४ गते सर्वोच्च अदालतदेखि लिएर विभिन्न सरकारी कार्यालयहरू जलाइएको भन्दै तिनीहरूलाई पनि खोजी दोषीमाथि छानविन गरेर कारबाहीको माग गरेका छन् ।
यस घटनालाई लिएर एमाले निकट संगठनहरूले पार्टी केन्द्रको निर्देशनअनुसार आगामी दिनमा पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको बताएको छ ।
ओलीसँगै नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक समेत पक्राउ परेका छन् । तर कांग्रेसले भने यस विषयमा गम्भीर रूपमा अध्ययन गरेर मात्र आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने जनाएको छ।













