चैत १६, पोखरा ।।
बालबालिकालाई काममा लगाउने तथा मापदण्ड विपरीत स्पा सञ्चालन गरेको आरोपमा कास्की प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चैत १४ गते साँझ करिब ४ बजे पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रका विभिन्न स्पा तथा ब्यूटी पार्लरमा अनुगमन गर्दा बालबालिकालाई काममा लगाइएको र अवैध गतिविधि भइरहेको पाइएपछि पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मारेर संचालकहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका माथि बालबालिका विरुद्ध कसूर सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। अनुगमनका क्रममा स्पामा काम गरिरहेका नाबालिकाहरूलाई उद्धार गरी संरक्षणका लागि सम्बन्धित संस्थामा पठाइएको छ भने वयस्क कामदारहरुलाई अभिभावक तथा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नपा वडा नं १० घर भई हाल जिल्ला कास्की पोखरा वडा नं ६ लेकसाइड बस्ने वर्ष ४७ को होम बहादुर बुढाथोकी, पोखरा ११ घर भई हाल पोखरा ६ लेकसाइड बस्ने वर्ष २४ की जोनिसा श्रेष्ठ सुनार, चितवन भरतपुर ६ का गितानगर घर भई हाल जिल्ला कास्की पोखरा ६ लेकसाइड बस्ने वर्ष २३ की शर्मिला परियार, स्याङ्जा फेदीखोला ४ घर भई हाल जिल्ला कास्की पोखरा ६ लेकसाइड बस्ने वर्ष ४२ को सुरेश विक, गोरखा गण्डकी गाउँ पालिका ८ घर भई हाल जिल्ला कास्की पोखरा ६ लेकसाइड बस्ने वर्ष २७ को जीवन श्रेष्ठ, रुपन्देही मर्चवारी ७ घर भई हाल जिल्ला कास्की पोखरा ६ लेकसाइड बस्ने वर्ष २० की अञ्जिना खातुन, मकवानपुर ईन्द्रसरोवर २ घर भई हाल जिल्ला कास्की पोखरा ६ लेकसाइड बस्ने वर्ष ४४ को राजु थापा मगर र कास्की पोखरा १७ ड्यामसाइड बस्ने वर्ष २८ को सरोज सुनार रहेका छन् ।













