पोखराको गोप्य ट्रान्स पार्टीमा प्रहरीको छापा, विदेशी नागरिकसहित ३८ जना पक्राउ
  • प्रमुख खबर

Oplus_131072

चैत्र १७, पोखरा ।।
कास्की प्रहरीले मंगलबार(आज) पोखरामा सञ्चालन भइरहेको अवैध ट्रान्स पार्टीमाथि छापा मारेको छ । प्रहरीले छापा मार्ने क्रममा त्यसका सञ्चालकसहित विभिन्न देशका नागरिकसहित ३८ जनालाई नियन्त्रणमा पनि लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा -१८ स्थित एक निजी स्थानमा ट्रान्स पार्टी भइरहेको गोप्य सूचनाका आधारमा संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ती ३८ जनालाई नियन्त्रणमा लिइएको हो ।

तीमध्ये ८ जनाको साथबाट एमडीएमए, कोकिन, चरेश, आईस (एम्फेटामिन), पेपर यालयसडि म्याजिक मसरुम लगायतका खतरनाक लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त पार्टीका मुख्य सञ्चालकको रूपमा म्याग्दी जिल्लाको मालिका गा.पा.वडा नं.२ घर भई हाल पोखरा -१८ सेदीबगर बस्ने वर्ष ३२ का बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्मा रहेका छन्।

यस्तै पक्राउ परेकामध्ये केही विदेशी नागरिकसमेत रहेको पुष्टि भएसँगै यसले घटनालाई थप संवेदनशील बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये लागुऔषध फेला परेका ८ जनाविरुद्ध लागूऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।

त्यस्तै ४ जनालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ भने बाँकी २६ जनालाई आवश्यक सोधपुछपछि अभिभावक तथा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

कास्कीका प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार विषेशगरी पोखरालाई सुरक्षित र स्वच्छ पर्यटन गन्तव्यका रूपमा कायम राख्न यस्ता अवैध गतिविधिमाथि निरन्तर निगरानी र कडा कारबाही जारी रहनेछ।

उनले यस घटनाले पोखरामा विदेशी तथा स्थानीय संलग्नतामा हुने भूमिगत पार्टी संस्कृतिमाथि थप निगरानी आवश्यक रहेको संकेत पनि गरेका छन् । यससँगै प्रहरीले आगामी दिनमा यस्ता गतिविधि नियन्त्रणका लागि थप कडाइ गर्ने चेतावनी पनि दिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्