चैत्र २४, काठमाडौं ।।
अमेरिका र इरानबिचको द्वन्द्वका कारण पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तीमा समस्या देखिएको छ। यसको असर नेपालमा समेत परेको छ ।
देशमा पेट्रोलियम पदार्थको आपूर्तीमा समस्या देखिए पछि सरकारले त्यस समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुनसक्ने बताएको छ । मंगलबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक परेको खण्डमा उक्त प्रणाली लागू हुने बताएको हो ।
सो निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले यस्तो आह्वान गरेको जानकारी दिइन् । यसका लागि थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले बताइन् ।
मन्त्री रावलले सरकारले जनतासँग ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गरेको पनि बताइन् ।
यस्तै यस समस्या समाधानका लागि दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको पनि उनले बताइन् । त्यसका लागि इथानोल नीतिमा तयारी भइरहेको उनको भनाइ छ ।
त्यस्तै उनले अहिलेको सरकारले जनताको पीडा बुझ्ने बताउँदै सरकार पारदर्शी भएको पनि स्पष्ट पारिन् ।













