वैशाख २, पोखरा ।।
गण्डकी प्रदेशमा फेरिएका सबै मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा बुधबार(आज) प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
यससँगै गण्डकीको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ। विषेशगरी सत्ता समीकरण परिवर्तनसँगै ८ जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएसँगै सरकारलाई नयाँ गति दिने संकेत देखिएको छ।
प्रदेश प्रमुखसमक्ष भएको सपथ ग्रहणसँगै नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार औपचारिक रूपमा विस्तार भएको हो। अहिलेको गठबन्धन सरकारमा दुवै दलबाट समान रूपमा ४–४ जना मन्त्री समावेश गरिएका छन्।
एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामा, यशोदा रिमाल उद्योग तथा पर्यटनमा, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारीमा र लक्ष्मण पाण्डेले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा प्राप्त गरेका छन्।
त्यस्तै कांग्रेसका तर्फबाट जित शेरचनके अर्थ मन्त्रालय, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद र रेखा गुरुङले वन तथा वातावरण मन्त्रालयको नेतृत्व प्राप्त गरेका छन्।
यसअघि विभिन्न मन्त्रालय सम्हाल्दै आएका मन्त्रीहरूको स्थानमा नयाँ अनुहारहरूको आगमनले सरकारमा नयाँ ऊर्जा थपिएको आकलन गरिएको छ। गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।














