बैशाख १४, काठमाडौं ।।
नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । कांग्रेसको सोमबार(आज) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने निर्णय गरेको हो ।
कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।
पार्टी सभापति गगन थापाले पूर्वसहमहामन्त्री समेत रहेका आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव गरेको स्रोतले जनाएको छ।
यसभन्दा अघि कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य गरी तीन प्रमुख दाबेदारका रूपमा थिए । तर स्रोतका अनुसार एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने निर्णय भएको हो।
दलको नेतामा सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको थियो ।












