बैशाख १५, पोखरा ।।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका एक फरार प्रतिवादीलाई कास्की प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ परेका फरार प्रतिवादी मादी गाउँपालिका–७ घर भई हाल पोखरा–१३, बाझपाटन बस्दै आएका ३२ वर्षीय हेमकुमार तामाङ रहेका छन् ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका तामाङलाई अदालतले १३ वर्ष ८ महिना १० दिन कैद सजाय तोकिएको थियो । तर उनी २०७० माघ १२ गते कारागार कार्यालय कास्कीबाट फरार भएका थिए।
तिनै फरार तामाङलाई कास्की प्रहरीले बैशाख १४ गते पोखरा–१३ स्थित दुईकुलाको मुहान क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका उनलाई थप कारवाहीका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।
विगत लामो समयदेखि फरार रहेका अभियुक्तलाई आफूहरूले पक्राउ गर्न सफल भएको भन्दै यो एउटा महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।













