पोखरा स्पोर्टस अवार्डको दशौं संस्करण बैशाख ३१ गते हुँदै
  • प्रमुख खबर

बैशाख १६, पोखरा ।।
पोखराको खेलकुद क्षेत्रको एक प्रतिष्ठित कार्यक्रम “पोखरा स्पोर्टस अवार्ड–२०८२” हुने भएको छ ।
खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने यस स्पोर्ट्स अवार्डको दशौं संस्करण बैशाख ३१ गते हुने भएको हो ।

मञ्चले बुधबार(आज) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएको छ । सो कार्यक्रम पोखरा–६ लेकसाइडस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने र यस दशौं संस्करणलाई हिमश्री फुड्स प्रा.लि.को मुख्य उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको मञ्चले जनाएको छ ।

विषेशगरी यस वर्षको अवार्डलाई ९ विधामा प्रदान गरिने तयारी भएको मञ्चका अध्यक्ष मानबहादुर घर्ती मगर (एमबी आस्था)ले जानकारी दिएका छन्।

उनका अनुसार अवार्डका विधाहरूमा सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडी, वर्ष उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/क्लब, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र उत्कृष्ट खेल पत्रकार समावेश छन्।

यससँगै आयोजकका अनुसार यस वर्षदेखि पिपुल्स च्वाइस अवार्डलाई भने थप गरिएको हो । पुरस्कारतर्फ सर्वोत्कृष्ट पुरुष, महिला र पिपुल्स च्वाइस अवार्ड विजेतालाई स्कुटर प्रदान गरिनेछ भने अन्य विधाका विजेताहरूलाई जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

यस्तै मञ्चका महासचिव परशुराम शर्माका अनुसार हरेक विधामा तीन–तीन जना खेलाडी मनोनयन गरिनेछ र चाँडै ती खेलाडीहरूको नाम सार्वजनिक गरिने तयारी भइरहेको समेत बताए ।

यस अवार्डको सह-प्रायोजकमा गुरुङ गहना घर र केल्मी रहेका छन्। भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र आतिथ्य साझेदारका रूपमा प्लाजा होटल ग्रुप संलग्न छन्।

त्यस्तै आयोजकका अनुसार गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद (गखेप) र पोखरा महानगर खेलकुद परिषदको सहकार्य तथा सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हो। आयोजकले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र बनाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्