पोखराका सुकुमबासीहरुको आन्दोलनप्रति महानगर प्रमुख आचार्यद्वरा उत्तेजनामा नआउन आग्रह
  • प्रमुख खबर

Oplus_131072

बैशाख २१, पोखरा ।।
वास्तविक सुकुमबासीको समस्या समाधानतर्फ ठोस पहल भइरहेकाले आन्दोलन आवश्यक नरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।

हिजो पोखरा बसपार्क क्षेत्रका सुकुमबासीहरूले संघर्ष समिति गठन गर्दै पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको थियो । उनीहरूले गरेको सोही घोषणा बमोजिम सोमबार(आज) आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलित सुकुम्बासीहरुले महानगरपालिकाले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन जारी गरेको ३५ दिने सूचनाको विरोध गर्दै खारेज गर्न माग गरेका छन् ।

यसै विषयलाई लिएर महानगर प्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत सुकुम्बासीहरुलाई कसैको स्वार्थका लागि प्रयोग नहुन र उत्तेजनामा नआउन आग्रह गरेका छन् ।

विषेशगरी सुकुम्बासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर भई जिम्मेवार ढंगले काम गरिरहेको भन्दै संघर्ष समितिको सट्टा सहयोग तथा सहजीकरण समिति गठन गरी आफ्ना माग र सुझावहरू औपचारिक रूपमा पेश गर्न अनुरोध पनि गरे ।

उनले सुकुम्वासी समस्या समाधानका लागि देशभरमै सम्भवतः सबैभन्दा छिटो निस्सा वितरण गर्ने काम पोखरा महानगरपालिकाले सम्पन्न गरेको स्मरण गराउँदै सहजीकरणका लागि अनुरोध गरे ।

उनका अनुसार महानगरले अहिलेसम्म १९ हजार ८ सय ५६ परिवारलाई निस्सा वितरण गरिसकेको बताउँदै निस्सा प्राप्त गरेका नागरिकहरूको यथार्थ छानबिन गरिने पनि स्पष्ट पारे।

हाल बसोबास गरिरहेको स्थान जोखिमरहित भएको र सरकारी परियोजनाको लागि आवश्यक नभएको अवस्थामा सोही स्थानमा व्यवस्थापन गरिने पनि उनले प्रष्ट्याएका छन् ।

त्यस्तै तत्कालका लागि महानगरले नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गरिने प्रक्रिया अगाडि बढाइएको समेत उनले जानकारी दिए ।

प्रमुख आचार्यका अनुसार पछिल्ला केही दिनयता अतिक्रमित स्थल खाली गराउने सम्बन्धी सूचना जारी भएसँगै सुकुमबासी बस्तीलाई मानव ढालका रूपमा प्रयोग गर्ने प्रयाससहित अनावश्यक उत्तेजना र आवेग सिर्जना गरिएको देखिएको भन्दै त्यसप्रति दु:ख समेत प्रकट गरेका छन् ।

उनले सार्वजनिक वा सरकारी जमिन बिना अनुमति भोगचलन गर्ने, भाडा उठाउने र व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने व्यक्ति तथा संस्थाहरूले तोकिएको समयभित्र स्थान खाली गरी सहयोग गर्नुपर्ने समेत बताए ।

यदि महानगरले जारी गरेको उक्त सूचनालाई बेवास्था गरी अटेर गरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्