गण्डकीमा कांग्रेसको प्रमुख सचेतकमा प्रकाश बराल नियुक्त
  • प्रमुख खबर

बैशाख २२, पोखरा ।।
नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकमा प्रकाश बराल नियुक्त भएका छन् । पार्टीका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार(आज) सचेतक बराललाई उक्त पदमा नियुक्त गरेका हुन्।

प्रमुख सचेतकमा बराल नियुक्त भयसँगै यसअघि उनले सम्हाल्दै आएको सचेतकको पद भने रिक्त भएको छ । यसमा प्रमुख सचेतकको सिफारिसमा दलका नेताले सचेतक नियुक्त गर्ने प्रावधान छ । केही दिनभित्रै सचेतकको पनि टुंगो लाग्ने नवनियुक्त प्रमुख सचेतक बरालले जानकारी दिएका छन् ।

यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि यो पद रिक्त थियो । बैशाख २ गते मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

पाण्डेले एमालेसहितको सरकारका मन्त्री हेरफेर गर्दा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद ऊर्जा र एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेले भने प्रमुख सचेतक नियुक्त गरेको छैन ।यसअघिका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले अबको संसद्को अधिवेशन सुरु हुनुभन्दा अगावै नियुक्त गर्ने तयारी दलको नेताले गरेको बताए ।

एमाले सचेतकमा भने देवका पहारी यथावत छिन् ।कांग्रेसको विशेष महाधिवेशन र निर्वाचन परिणामपछि आन्तरिक द्वन्द्व अझ बढेको छ । त्यसको असर गण्डकीमा पनि परेको थियो ।

मुख्यमन्त्री पाण्डेले केन्द्रको समन्वय र गण्डकीका बहालवाला मन्त्रीसँग कुनै छलफल तथा जानकारीसमेत नदिइ हेरफेर गरेको भन्दै असन्तुष्टि बढेको थियो ।

कारबाही गरेर बर्खास्त गरेजसरी जानकारीसमेत नदिइएको मन्त्रिपरिषद् हेरफेर गरिएको भन्दै यसअघिका मन्त्रीहरूले असन्तुष्टि पोखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्