जेठ ९, पोखरा ।।
नेपाली कम्युनिष्ट पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले उपभोग गर्दै आएको सरकारी जग्गा फिर्ता गरेको छ ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वीचोकमा रहेको भवन सहित ४ रोपनी जग्गा शनिबार(आज) फिर्ता गरेको हो ।
महानगरपालिका र उपत्यका नगर विकास समितिको ३५ दिने सूचना बमोजिम ट्रेड युनियनले २०६७ सालमा करिब १ करोड ५३ लाख लागतमा निर्माण भएको १३ कोठे भवनको चाबी महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
सो क्रममा गौतमले श्रमिकहरूको पसिनाले बनेको उक्त भवनको पूर्ण रूपमा सदुपयोग गर्न सुझाव समेत दिएका छन्।
भवनको चाबी बुझ्दै नगर प्रमुख आचार्यले सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेको जग्गा संरक्षणका सम्बन्धमा यस कार्यलाई सुखद सुरुवातका रूपमा उल्लेख गरेका छन्।
उपत्यका नगर विकास समिति र महानगरपालिकाको अनुरोधलाई समन्वयात्मक ढङ्गले भवनको चाबी बुझाएकोमा महासंघप्रति उनले आभार समेत व्यक्त गरे ।
उनले पोखरा महानगरपालिकामा सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेका जग्गाहरूको संरक्षण गर्दै विकास अभियान सञ्चालन गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।
प्रमुख आचार्यले उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा यसरी नै बसोबास वा कार्यालय सञ्चालन गरिरहेका अन्य व्यक्ति र संघसंस्थाहरुलाई समेत तत्काल खाली गर्न अनुरोध गरे ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गामा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले भोग चलन गर्दै आइरहेका छन् ।
पोखराको पृथ्वी चोकमा व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अगाडी बढेकाले सो क्षेत्र सहित महानगर क्षेत्रभित्रको सार्वजनिक जग्गा खाली गर्न महानगरपालिकाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद आज सकिँदैछ ।











