जेठ १२, पोखरा ।।
पोखरा महानगरपालिकाका प्रशासन महाशाखाका प्रमुख कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा सुकुम्वासी समस्या सहजीकरण समिति गठन गरिएको छ।
पोखरा -९, बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्वासीहरूको पहिचान गरी १० दिन भित्र प्रतिवेदन पेश गर्ने गरी तिवारीको संयोजकत्वमा मंगलबार(आज) समिति गठन गरिएको हो।
समितिको सदस्यमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीका अधिकृत, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत, साविक मालपोत कार्यालय कास्कीका अधिकृत, साविक नापी कार्यालय कास्कीका अधिकृत, जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकृत प्रतिनिधि तथा वडा नं. ९ का वडा सचिव सदस्य सचिव रहनेछन् ।
समितिलाई महानगरमा पेश हुन आएका ५ सय ७२ जना सुकुम्वासीहरूको विषयमा आवश्यक अध्ययन तथा छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको महानगर प्रमुख धनराज आचार्यले बताएका छन् ।
महानगर प्रमुख आचार्यले पोखराको पृथ्वीचोकमा अधिग्रहण गरिएको स्थानमा व्यवस्थित बसपार्क निर्माणको तयारीमा रहेको पनि बताए।











