जेठ १३, पोखरा ।।
बेगनासताल पोखरा यातायात प्रा.लि.ले यात्रु सेवा व्यवस्थित बनाउन नयाँ निर्देशन जारी गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत यात्रुहरूबाट गुनासो बढेपछि बस सञ्चालनमा कडाइ गरिएको जनाएको हो ।
कम्पनीका अनुसार बेगनासताल तथा शाखा रुटबाट पोखरा आउने–जाने बसहरूले अबदेखि निर्धारित स्टेसन बाहिर लामो समय यात्रु कुर्न पाउने छैनन् । यात्रु चढाउने तथा ओराल्ने कार्यका लागि मुख्य रूपमा पृथ्वीचोक र बुद्धचोक स्टेसनमा मात्र २ मिनेट रोकिने व्यवस्था गरिएको छ ।

यदि कुनै चालक वा सहचालकले कम्पनीले तोकेको स्टेसन बाहिर यात्रु कुरेर बस रोकेको पाइएमा पहिलो पटक रु १ हजारदेखि रु १५ सयसम्म जरिवाना गरिने कम्पनीले जनाएको छ । साथै बसमा राखिने भाडादर स्पष्ट रूपमा देखिने गरी टाँस्न पनि निर्देशन दिइएको छ ।
कम्पनीले पोखराबाट छुटेका सम्पूर्ण बसहरू ४५ मिनेटभित्र शिशुवा कटिसक्नुपर्ने व्यवस्था समेत लागू गरेको जनाएको छ ।यो सूचना २०८३ साल जेठ १३ गतेदेखि लागू गरिएको कम्पनीले जनाएको छ ।











