भारतबाट ४५३ नेपालीको उद्धार, बेलहिया नाका हुँदै रुपन्देही ल्याइयो
  • प्रमुख खबर

जेठ १६,बुटवल।।

भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपाली नागरिकको उद्धार गरी रुपन्देही ल्याइएको छ।भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेको थियो। त्यहाँबाट उद्धार गरिएका नेपालीहरूलाई आठ वटा बसमार्फत शनिबार बिहान बेलहिया नाका हुँदै नेपाल भित्र्याइएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार उद्धार गरिएकामध्ये करिब आधाजति महिला रहेका छन्। हाल उनीहरूको व्यक्तिगत विवरण तथा पहिचान संकलन गर्ने कार्य भइरहेको छ।

प्रारम्भिक जानकारीअनुसार रोजगारीलगायतका प्रलोभनमा पारेर उनीहरूलाई कुशीनगर क्षेत्रमा पुर्‍याएर राखिएको थियो। सो सूचना पाएपछि भारतीय प्रहरीसँग समन्वय गरी उद्धार गरिएको एसपी शाहीले बताए।

उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि सबैलाई घर पठाइनेछ, जसका लागि केही घण्टा समय लाग्ने अनुमान गरिएको छ। साथै, उनीहरूलाई भारत किन र कसले लगेको भन्ने विषयमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्