जेठ १७,काठमाडौँ।।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीका कारण मौसममा बदलीसँगै वर्षा र हुरीको प्रभाव देखिनेछ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि मध्यम बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णालीका केही स्थानमा हल्का वर्षा जारी रहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । मधेश प्रदेश तथा अन्य प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने जनाइएको छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । साथै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन पनि सबैमा अनुरोध गरिएको छ ।









