पाँच दिने भ्रमणका लागि रास्वपाका सभापति लामिछाने आज भारत जाँदै
  • प्रमुख खबर

जेठ १८, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने
बुधबार(आज)भारत भ्रमणमा जाने भएका छन् । उनी भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भारत जाने भएका हुन् ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्यसहित रहनेछन् ।

पाँच दिने भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सो क्रममा उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

यस्तै यस भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।

रास्वपाले यो भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबिचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्