जेठ १९, पोखरा ।।
पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्रता दिँदै पृथ्वीचोक क्षेत्रमा बनेका विभिन्न संरचनाहरू हटाएको छ । जसअन्तर्गत साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कांग्रेस तथा हिमाली सांस्कृतिक परिवार लगायतका भवन हटाइएपछि अहिले सो ठाउँको भग्नावशेष व्यवस्थापनको काममा समेत महानगर जुटेको छ ।
उक्त क्षेत्रमा अब नयाँबजार–पृथ्वीचोक जोड्ने दुईतर्फी सुविधासम्पन्न सडक विस्तार गरिने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन्। बढ्दो सवारी चापलाई व्यवस्थापन गर्दै पृथ्वीचोकको ट्राफिक दबाब कम गर्ने उद्देश्यले सो सडकलाई वैकल्पिक मार्गका रूपमा स्तरोन्नति गर्न लागिएको उनले बताए।
यस संरचना हटाउने प्रक्रियामा सहकार्य गर्ने सम्बन्धित संघसंस्था, जनप्रतिनिधि, वडाध्यक्ष तथा स्थानीय सरोकारवालाप्रति नगर प्रमुख आचार्यले धन्यवाद व्यक्त समेत गरेका छन् ।
उनले आगामी दिनमा पनि विकास निर्माणका थप योजनाहरूमा यस्तै सहकार्य आवश्यक रहने भन्दै सबै पक्षलाई पोखराको समग्र विकासका लागि हातेमालो गर्न आग्रह गरे ।










