पोखरामा मेगा वृक्षारोपण अभियानअन्तर्गत विश्व वातावरण दिवस पारेर रोपियो ६ हजार बढी बिरुवा
  • प्रमुख खबर

जेठ २२, पोखरा ।।
पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित शहरको रूपमा विकास गर्न वृक्षारोपण अभियान थालिएको महानगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

अभियानअन्तर्गत विश्व वातावरण दिवसका अवसरमा शुक्रबार(आज) पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ ।

महानगर प्रमुख आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू लगाइएको हो ।

उनले यस मेगा वृक्षारोपणको अभियानका क्रममा आ–आफ्नो स्थानबाट बिरुवाहरू लगाएर ग्रिन पोखरा क्लिन पोखरा निर्माणमा योगदान गर्न नगरवासीहरूलाई आह्वान समेत गरेका छन्। आफ्नो घर तथा पसल अगाडी लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षण गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न उनले आग्रह पनि गरेका छन् ।

अभियानअन्तर्गत लामो अध्ययन पश्चात् वन विज्ञान अध्ययन संस्थान र वन तथा वातावरण सम्बन्धी विज्ञहरूको सुझाव अनुसार नगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने उनले बताए ।

यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ग्रिन पोखरा क्लिन पोखराको अभियानलाई सार्थक तुल्याउन हरेक नगरवासीहरूले आफ्ना अगाडीका बिरुवाहरूको संरक्षणको दायित्व लिनुपर्ने बताए।

आफ्नो वरपरको वातावरणलाई सफा स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिका नगरवासीको साथमा रहेको उल्लेख गर्दै उनले महानगरको यस अभियानमा साथ दिन आग्रह गरे ।

विज्ञहरूको सुझाव अनुसार महानगर क्षेत्रमा पहिचान गरिएको क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्