जेठ २४, पोखरा ।।
पोखरा बसपार्क निर्माणका लागि त्यस स्थानमा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनमा पोखरा महानगरपालिका निरन्तर लागिपरेको छ । यसका लागि ३ वटा समितिहरू गठन गरी काम भइरहेको महानगरले जनाएको छ । समितिहरूलाई १० कार्य दिनको समयावधि दिइएकोमा सार्वजनिक बिदाका कारण उनीहरूले जेठ २८ गतेसम्म काम गर्नेछन् ।
यसबिचमा वडा नं. १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीको संयोजकत्वमा गठित जग्गा व्यवस्थापन (खोजी) समितिले आफ्नो प्रतिवेदन नगर प्रमुखसमक्ष बुझाइसकेको छ । समितिले प्रस्ताव/सिफारिस गरेका जग्गाहरूको बारेमा हाल थप अध्ययन भइरहेको छ ।
वास्तविक सकुम्बासीहरुको पहिचानमा सहजीकरण गर्न गठन गरिएको समितिले २८ गतेसम्म काम गर्नेछ । पूर्व न्यायाधीश शङ्करराज बरालको संयोजकत्वमा बसपार्क क्षेत्रको १८७ रोपनी जग्गाको सट्टापट्टा, बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाका सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिलाई १५ कार्य दिनको समय दिइएको र आषाढ ४ सम्म काम गर्नेछ ।
यस सम्बन्धमा विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठेपछि केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति पाएको, वितरण प्रक्रियामा असमानता भएको लगायत विषयमा सत्य तथ्य छानबिन गरी न्यायिक निरूपण गर्न बरालको अध्यक्षतामा समिति गठन गरिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन्।
तोकिएको समय सीमा भित्रै सबै समितिहरूबाट प्राप्त प्रतिवेदनहरूका निष्कर्ष, सुझाव तथा सिफारिसका आधारमा आवश्यक निर्णय र थप प्रक्रिया अगाडि बढाइने समेत उनले बताए।











