गगनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै डा. सशांक कोइरालाले भने एक्लै हिँडेर पार्टी चल्दैन
  • प्रमुख खबर

Oplus_131072

जेठ ३१, विराटनगर ।।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले पार्टी अहिले कमजोर अवस्थामा पुगेको भन्दै कांग्रेसभित्र पार्टी एकताको आवश्यकता भएको बताएका छन्।

नेपाली कांग्रेस इतर समूह विराटनगरले आइतबार(आज) आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले हाल पार्टी दुई धारमा विभाजित भएकाले एकता नै अबको एकमात्र विकल्प रहेको बताए।

लामो समयको अन्तरालपछि आज विराटनगरस्थित कोइराला निवास पुगेको स्मरण गर्दै डा. कोइरालाले पार्टीका संस्थापक नेता बीपी कोइरालाको जनमुखी राजनीतिक दृष्टिकोण स्मरण गर्दै विपीले आफ्नो लागि नभई जनताका लागि पार्टी बनाएको बताए ।

डा. कोइरालाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको ठूलो फड्को मारेको चर्चा गर्दै अहिले नेतृत्वले बाटो बिराएको समेत स्पष्ट पारे ।

यस्तै पार्टीको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै उनले कुनै एक व्यक्तिले मात्रै कांग्रेसलाई अघि बढाउन नसक्ने बताए। विषेशगरी गगन थापाको कार्यशैलीतर्फ संकेत गर्दै उनले सबै नेताहरूलाई पाखा लगाएर एक्लै पार्टी हाँक्ने सोच भ्रमपूर्ण भएको टिप्पणी गरे।

कांग्रेसभित्रको बढ्दो गुटबन्दी र विभाजनलाई उनले दुर्भाग्यपूर्ण भएको भन्दै ८० वर्षको इतिहास बोकेको कांग्रेस कमजोर हुँदा त्यसको असर प्रत्यक्ष रूपमा लोकतन्त्र र राष्ट्रमा समेत परेको धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्