कास्की प्रहरीको अपरेशन ३६५ जारी, अभियानअन्तर्गत एकैदिन २३ वटा सवारीसाधनमाथि कारबाही
  • प्रमुख खबर

अषाढ ५, पोखरा ।।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेशन ३६५’ अन्तर्गत थप २३ वटा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको छ।

प्रहरीले अषाढ ४ गते पोखरा महानगरपालिकाका विभिन्न स्थानमा रातिको समयमा गरिएको चेकजाँचका क्रममा २३ वटा मोडिफाइड गरिएका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको हो ।

कारबाहीमा परेका २३ मोटरसाइकलमध्ये बैदाम प्रहरीले ११ वटा, रामबजार प्रहरीले ४ वटा र ट्राफिक प्रहरीले ८ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘अपरेशन ३६५’ सुरु भएयता हालसम्म ७ सय १२ वटा सवारीसाधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। यसले पोखरामा सवारीसाधनको अवैध मोडिफिकेशनविरुद्ध प्रहरीले आक्रामक अभियान सञ्चालन गरिरहेको स्पष्ट पार्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सवारीधनीलाई आफ्नो सवारीसाधनको मौलिक स्वरूप परिवर्तन नगर्न आग्रह गर्दै मोडिफिकेशन गर्ने ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई समेत यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।

प्रहरीले सवारीसाधन मोडिफाई गरी चलाएको पाइएमा सवारीधनी तथा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने स्पष्ट रूपमा बताएको छ।

प्रहरीको यस अभियानले सडक सुरक्षा, ट्राफिक अनुशासन र कानुनी व्यवस्थाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्