अषाढ ७, पोखरा ।।
कास्की प्रहरीले सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत जेठ २४ गते पोखरा -१५, मेरिगोल्ड निवासी मनिषा थापाको घरमा झ्यालढोका नाप्ने बहाना बनाएर घरभित्र प्रवेश गर्दै कोठाको दराज तोडफोड गरी लाखौं रुपैयाँ बराबरका सुनका गरगहना तथा नगद चोरी भएको थियो ।
चोरी भएको घटनामा संलग्न रहेको आरोपमा सर्लाही लालबन्दी नगरपालिका–१७ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनहरा–९ शिवनगर टोल बस्ने ३५ वर्षीय भुवनबहादुर साह (शंकर) पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले असार ४ गते काठमाडौं प्रहरीको सहयोगमा साहलाई पक्राउ गरेको थियो। उनको कोठाबाट चोरीमा संलग्न विभिन्न सामग्री र नगद बरामद गरिएको छ।
यस्तै घटनाका विषयमा थप अनुसन्धानका क्रममा चोरी गरिएका सुनका बाला करिब ६ लाख ५० हजार रुपैयाँमा बिक्री गरिएको खुल्न आएपछि उक्त सुन खरिद गर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भई हाल काठमाडौं मुलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई समेत पक्राउ गरिएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।
उनीहरूको साथबाट सुनजस्तो देखिने तिलहरी, चन्द्रमा, झुम्का, औँठी, मुन्द्रालगायतका गरगहना, चाँदीजस्ता धातुका बाला, सिक्का र सिक्री तथा नगद ८१ हजार ५०० रुपैयाँ बरामद गरेको उनले बताए ।
सो चोरीको घटनाका बेला लगाइएका कपडा समेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। विषेशगरी
अपरिचित व्यक्तिलाई घरमा सहजै प्रवेश गर्न नदिन तथा कुनैपनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत प्रहरीले सम्पूर्णमा आग्रह गरेको छ।









