आज अर्जेन्टिना र अस्ट्रिया भिड्दै, मेसीका लागि इतिहास लेख्ने अवसर, अर्जेन्टिनाका लागि शीर्ष स्थानको चुनौती
  • प्रमुख खबर

अषाढ ८, काठमाडौं ।।
अमेरिकाको टेक्सासस्थित डल्लास स्टेडियममा आज राति
अर्जेन्टिना र अस्ट्रिया आमनेसामने हुने भएको छ । समूह
‘ जे ‘ मा रहेका यी दुई देश आमनेसामने हुने भएको हो । खेल नेपाली समयअनुसार राति १०:४५ बजे सुरु हुनेछ ।

यस खेलमा सबैभन्दा ठूलो आकर्षण हुनेछन् अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी । अल्जेरिया विरुद्धको खेलमा ३–० को शानदार जितमा ह्याट्रिक गर्दै करिअरको ६१औँ ह्याट्रिक पूरा गरेका मेसी अर्को ऐतिहासिक उपलब्धिको संघारमा उभिएका छन्।

उनले आफ्नो खेल जीवनमा क्लबका लागि ५० र अर्जेन्टिनाका लागि ११ गोल गरेका छन् । आज अस्ट्रियाविरुद्धको खेलमा उनले गोल गरे भने उनी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् । हाल यो कीर्तिमान जर्मनीका पूर्व फुटबलर मिरोस्लाभ क्लोस्सेसँग छ । उनले विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्दै कीर्तिमान बनाएका थिए।

त्यस्तै मेसीले आजको खेलमा गोल गरे भने उनी विश्वकप इतिहासको सर्वाधिक गोलकर्ता मात्र हुने छैन । उनले लगातार ६ विश्वकप खेलमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गर्नेछन्। यसअघि यस्तो कीर्तिमान केवल फ्रान्सका जस्ट फन्टैने र ब्राजिलका जैरजिन्होले मात्र बनाउन सफल भएका थिए ।

विषेशगरी आज हुने खेल मेस्सीसँगै उनको देश अर्जेन्टिनाको लागि समूहको शीर्ष स्थान सुरक्षित गर्ने अवसर पनि हो ।

यता अस्ट्रिया पनि जित निकाल्न सके समूह विजेता बन्न सक्ने अवस्थामा छ । पछिल्ला चार खेल लगातार जितेको अस्ट्रिया उत्कृष्ट लयमा छ। अस्ट्रियाले आजको खेलमा जित हात पारेमा समूहको शीर्ष स्थान कब्जा गर्ने सम्भावना पनि जीवित रहनेछ।

अस्ट्रियाको टिममा रहेका डेभिड अलाबा, स्टेफान पोस्च र एलेसान्द्रो शोप्फको फिटनेसमा शंका छ । उनीहरू छुट्टै अभ्यास गरिरहेका छन् र अन्तिम निर्णय खेलअघि हुनेछ । मार्सेल सबित्जरले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने तयारीमा छन् । उनी अहिले देशका सर्वाधिक खेलाडी सूचीमा चौथो स्थानमा छन्।

यस्तै अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनिले टोलीमा केही परिवर्तन गर्न सक्ने संकेत दिएका छन्। विशेषगरी नाहुल मोलिना सुरुवाती रोजाइमा फर्किन सक्ने चर्चा छ।

फुटबल इतिहासलाई फर्केर हेर्ने हो भने यी दुई देशबीच धेरै पटक प्रतिस्पर्धा भने भएको छैन। ३६ वर्षअघि भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकिएको थियो। त्यसअघि सन् १९८० मा अर्जेन्टिनाले अस्ट्रियामाथि ५–१ को गोल अन्तरले जित हासिल गरेको थियो । त्यस समय अर्जेन्टिनाका लागि महान फुटबलर डिएगो म्याराडोनाले अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्