अषाढ ९, काठमाडौं ।।
समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्ध अर्जेन्टिनाले २-० को गोल गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेको छ। गएराति भएको यस खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले शानदार प्रदर्शन गर्दै आफ्नो देशको लागि दुई गोल गरेका थिए ।
उनको यस गोलले अर्जेन्टिनालाई अर्को चरणको यात्रा मात्र सुनिश्चित गराएन तर स्वयमलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाउने कीर्तिमान दिलायो । उनको सो गोलेले सन् २००२ देखि २०१४ सम्म जर्मनीका मिरोस्लाभ क्लोजेले बनाएको १६ गोलको कीर्तिमानलाई तोड्यो ।
बुधबार ३९ वर्ष पुग्न लागेका मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरेका थिए । थियागो अल्माडाले चतुर ढंगले बल छाडेपछि फाकुन्डो मेडिनाको पासलाई उनले पेनाल्टी क्षेत्रभित्रबाट पहिलो स्पर्शमै जाली चुमाएका थिए ।
यस्तै उनले दोस्रो गोल खेको दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । जुलियन अल्भारेजको प्रयास अस्ट्रियाका गोलरक्षक अलेक्जान्डर स्लागरले रोकेपछि फर्किएको बलमा मेस्सीले साँघुरो कोणबाट दुई रक्षकलाई छल्दै गोल गरेका थिए ।
लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक जोडेको छ । यससँगै मेक्सिको, संयुक्त राज्य अमेरिका र जर्मनीसँगै अर्जेन्टिना अन्तिम ३२ मा प्रवेश गरेको छ ।










