आज हुने खेलमा पोर्चुगललाई जित्नै पर्ने दबाब तर उज्बेकिस्तान पहिलो चमत्कारको प्रतीक्षामा
  • प्रमुख खबर

Oplus_131072

अषाढ ९, काठमाडौं ।।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आज हुने खेलमा युरोपेली राष्ट्र पोर्चुगल र एसियाली राष्ट्र उज्बेकिस्तान आमनेसामने हुँदैछन्। एसियाली राष्ट्र उज्बेकिस्तानको विश्वकपको यात्रा भने यो पहिलो पटक हो ।

यता आज हुने यस खेल पोर्चुगलको लागि केवल तीन अंकको लडाइँ मात्र नभई प्रतिष्ठा जोगाउने अवसर पनि बनेको हो । पहिलो खेलमा कङ्गो डीआरसँग १–१ को बराबरी खेलेपछि पोर्चुगल दबाबमा परेको छ । यदि आजको खेलमा यस राष्ट्रले राम्रो प्रदर्शन गर्न नसके अन्तिम खेलमा बलियो राष्ट्र कोलम्बियासँग कठिन समीकरणको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनेछ। त्यसैले पोर्चुगलले आजको खेल जित्नै पर्नेछ ।

यता, पहिलो खेलमा कोलम्बियासँग पराजित भएपनि उज्बेकिस्तानका टोलीले आत्मविश्वास भने गुमाएको छैन। इटालियन प्रशिक्षक फाबियो कानाभारोको नेतृत्वमा रहेको टोली विश्वकप इतिहासकै पहिलो अंक वा पहिलो जित हासिल गर्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ।

विषेशगरी आजको खेलको सबैभन्दा ठूलो आकर्षणको केन्द्र भने पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो रहनेछन्। ४१ वर्षीय स्टारले विश्वकप र युरो कपजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार १० खेलदेखि गोल गर्न सकेका छैनन्। यद्यपि, पोर्चुगलका लागि खेलेका पछिल्ला ९ अन्तर्राष्ट्रिय खेलमध्ये ६ खेलमा गोल गरेका कारण उनको गोल गर्ने क्षमता अझै समाप्त नभएको संकेत देखिन्छ।

यस्तै पोर्चुगल र उज्बेकिस्तान फुटबलको इतिहासमा पहिलो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि यी दुई टोलीबीच कुनैपनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा प्रतिस्पर्धात्मक खेल भएको छैन।

एकातिर नकआउट चरणतर्फको यात्रा सहज बनाउन पोर्चुगल भरपुर आत्मविश्वासका साथ मैदानमा उत्रँदै छ भने अर्कोतर्फ विश्व फुटबलमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न सपनसहित उज्बेकिस्तान पनि पहिलो पटक मैदान प्रवेश गर्दैछन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्