विश्वकपको लगातार छ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो
  • प्रमुख खबर

Oplus_131072

अषाढ १०, काठमाडौं ।।
फिफा विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा
पोर्चुगलले उज्बेकिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ।

पोर्चुगलको लागी टोलीका कप्तान ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए। उनको यस गोलसँगै विश्वकपका लगातार ६ संस्करणमा उनी गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

यस्तै उज्बेकिस्तानको उनको गोलले उनी विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन्। यसअघि सन् १९९४ मा क्यामरुनका रोजर मिल्लाले ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गरेका थिए ।

रोनाल्डोले खेल शुरु भएको छैटौं मिनेटमा नै आफ्नो देशको लागि जोआओ क्यान्सेलोको क्रसलाई नजिकको पोस्टमा हाफ भलीमार्फत गोलमा परिणत गर्दै कीर्तिमान बनाएका हुन्।

प्रतियोगिताको पहिलो खेलमा डिआर कङ्गोसँग १-१ को बराबरी खेलेपछि आलोचना खेपेको पोर्चुगलले यसपटक भने विश्वकपमा पहिलोपटक सहभागी बनेको उज्बेकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हो।

त्यस्तै पोर्चुगलले १७औं मिनेटमा अग्रता दोब्बर बनायो । नुनो मेन्डेसले करिब २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै जालीमा पुगेको थियो । खेलको ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।

चौंथो गोल भने उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोलबाट पोर्चुगलले ४-० को अग्रता बनाएको थियो ।

अन्तिम समयमा वैकल्पिक खेलाडी राफाएल लिआओले पाँचौं गोल थप्दै जित सुनिश्चित गरेका थिए । यो जितसँगै पोर्चुगल दुई खेलबाट शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि आज हुने अर्को खेलमा कोलम्बियाले डिआर कङ्गोलाई हराएमा पोर्चुगललाई पछि पार्न सक्नेछ । उज्बेकिस्तान भने लगातार दोस्रो हारसँगै अंकविहीन बनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्