लायन्स क्लब अफ पोखरा बाराही टाउनको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

असार ११, पोखरा ।।

लायन्स क्लबस् इन्टरनेशनल अन्तर्गतको लायन्स क्लब अफ पोखरा बाराही टाउनको वर्ष २०२६/२७ को पद हस्तान्तरण (ह्यान्डओभर/टेकओभर) कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आइका इलेक्ट डिष्ट्रिक्ट फर्स्ट भाइस गभर्नर लायन शैलेन्द्रमोहन भट्टराईले समाजसेवामा महिलाको बढ्दो सक्रियता समाजमा सकारात्मक परिवर्तनको सङ्केत भएको बताए ।

उनले सकारात्मक जीवनशैली र सभ्य समाज निर्माणमा महिला नेतृत्वको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै व्यक्तिगत व्यस्तताका बाबजुद महिलाहरूले समाजसेवामा पुर्‍याइरहेको योगदान प्रशंसनीय रहेको बताए ।

क्लबको नामअनुसारका कार्यले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै समाजका समस्याको पहिचान गरी महिलाको नेतृत्वमा अझै रचनात्मक र सृजनशील काम गर्न सकिने उहाँको भनाइ थियो । सङ्ख्याभन्दा कामको प्रभावकारितामा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए ।

उनले आगामी दिनमा प्रेरणा, उत्प्रेरणा, आफूभन्दा कम अवसर पाएकाहरूलाई सहयोग गर्ने भावना र सेवाभावलाई मुख्य आधार बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक काउन्सिलर लायन कृष्ण श्रेष्ठ (रोजी), वर्ष २०२४/२५ का अध्यक्ष लायन विजयालक्ष्मी खड्का, डिष्ट्रिक एरिया लिडर लायन सूर्य चपाई तथा वर्ष २०२४/२५ का रिजन चेयरपर्सन माधव खड्काले राष्ट्रियदेखि स्थानीय तहसम्म महिलाको नेतृत्व र उपस्थिति सशक्त बन्दै गएको बताए ।

पछिल्लो निर्वाचन परिणामले समेत महिला नेतृत्वलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँहरूले यसलाई सकारात्मक र सशक्त दिशाको रूपमा व्याख्या गरे ।

वक्ताहरूले समाजसेवामा महिलाको बढ्दो सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको बताउँदै नयाँ सोच र नवीन विचारका साथ समाजसेवाका गतिविधिलाई अगाडि बढाउन आवश्यक रहेको धारणा राखेका थिए ।

लायन्स क्लब अफ पोखरा बाराही टाउनले वर्ष २०२५/२६ मा वृक्षारोपण, भलिबल खेलाडीलाई जर्सी हस्तान्तरण, अपाङ्गतामैत्री समाजमा खाद्यान्न वितरण, महिला सशक्तीकरणसम्बन्धी प्रशिक्षण, प्रहरी चौकी छोरेपाटनमा विद्युतीय सामग्री वितरण, मन्दिर सरसफाइ, जेन्जी आन्दोलनमा दिवङ्‌गत नागरिकको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन, सातौँ चार्टर डे तथा मानसिक स्वास्थ्य सचेतना लगायतका विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

क्लबमा हाल २० जना महिला सदस्य आबद्ध छन् । वर्ष २०२६/२७ की नवनिर्वाचित अध्यक्ष लायन लक्ष्मी न्यौपाने ठकुरीले लायन्स क्लबको नीति, नियम, अनुशासन र संस्कारअनुसार सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

वर्ष २०२५/२६ की अध्यक्ष लायन विजयालक्ष्मी खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष तथा डिष्ट्रिक एनएलएफ चिफ लायन गङ्गा शर्मा केसीले स्वागत मन्तव्य राखेकी थिन् भने कार्यक्रमको संचालन सचिव लायन लक्ष्मीदेवी शर्माले गरेकी थिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्