अषाढ १९, काठमाडौं ।।
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न आदेश जारी गरेको छ।
एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले शुक्रबार(आज)विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारी तथा सदस्यहरुलाई विदेश भ्रमण रोक लगाएको थियो । यस विषयलाई लिएर एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ अदालत पुगेका थिए ।
अदालतले विदेश भ्रमण रोकका लागि राखेपले लेखेको पत्र र विभिन्न निकायहरूमा भएका पत्राचारहरू तत्काल कार्यान्वयन गर्न भनेको हो ।
संस्थागत आर्थिक हिनामिनाको आरोपमा उनीहरूमाथि अख्तियारले छानबिन गरिरहेको छ । यही आधारमा अध्यागमनले उनीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो ।
अहिले भइरहेको फिफा विश्वकपमा सहभागी हुन एन्फाका अध्यक्ष र महासचिव दुवै जना विदेश जान लागेका थिए । तर उनीहरू दुवै जनालाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको थियो ।









