अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा दर्शन बचत तथा ऋण सहकारी संस्थाको बृहत् सरसफाइ अभियान
  • प्रमुख खबर

अषाढ २१, पोखरा ।।
अन्तर्राष्ट्रिय सहकारी दिवसको पावन अवसर पारेर पोखरामा ‘बृहत सरसफाइ कार्यक्रम’ सम्पन्न भएको छ ।

दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा, कास्कीको आयोजना तथा नेपाल ठकुरी संगम परिवार, कास्कीको सहआयोजनामा उक्त सरसफाई कार्यक्रम शनिबार सम्पन्न भएको हो।

‘सहकारी नै हो साझा चौतारी‘ भन्ने मूल नाराका साथ आयोजित उक्त सरसफाई कार्यक्रममा उपस्थित भएका सहभागीहरूले डेभिडफल्समा अवस्थित ठकुरी समाज परिसर वरिपरि सरसफाई गरी फोहोर संकलन तथा व्यवस्थापन गर्दै स्वच्छ वातावरण निर्माणमा योगदान दिएका थिए।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजाराम शाहीले सहकारी संस्था केवल आर्थिक गतिविधिमा मात्र सिमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रसर हुनुपर्ने बताए।

उनले सहकारीमार्फत समुदायमा सकारात्मक चेतना फैलाउने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको बताउँदै सहकारी र समुदायबीचको सहकार्यले दिगो विकासको आधार तयार गर्ने धारणा समेत राखे।

यस्तै नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष याम बहादुर हमालले संस्थागत सहकार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै सहकारी र सामाजिक संस्थाहरू एकजुट भएर अघि बढ्दा समाजको विकासमा टेवा पुर्याउने बताए ।

विषेशगरी हेर्दा सामान्य काम देखिएपनि सरसफाई जस्ता आधारभूत कुराहरूले नै हाम्रो समुदायमा विस्तारै ठूलो परिवर्तन ल्याउन सकिने बताए।

यसैबीच नेपाल ठकुरी महिला परिवारकी अध्यक्ष लक्ष्मी हमाल खाँणले वातावरण संरक्षण र सरसफाई जस्ताअभियानमा महिलाको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहने बताइन्।

यस अवसरमा नेपाल ठकुरी भूपू परिवार कास्कीका अध्यक्ष देवेन्द्र बम मल्लले आफ्नो सेवाकालीन समयमा हासिल गरेको अनुशासन र अनुभवलाई समाजको हित र सरसफाई जस्तो अभियानमा जोड्न पाउँदा खुसी लागेको बताए ।

त्यस्तै नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाहीले युवाहरूको ऊर्जा र सक्रियता नै सामाजिक परिवर्तनको मुख्य खम्बा भएको बताउँदै आगामी दिनमा समेत युवा पुस्ता सामाजिक कार्यहरूमा यसैगरी अग्रसर भइरहने प्रतिबद्धता जनाए।

नेपाल ठकुरी संगम परिवार पोखरा १७, छोरेपाटनस्थित परिसरमा भएको कार्यक्रममा दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , सल्लाहकारहरु, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति, नेपाल ठकुरी संगम परिवारका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका नेतृत्वकर्ताहरूले सामाजिक रूपान्तरण र समुदायको हितका लागि यस्ता कार्यक्रमहरू अपरिहार्य रहेको कुरामा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्